मनोरंजन

लोक गायक सुवेदीको नयाँ गीत ‘यो नानीको शिरको फुल’ सार्वजनिक

कास्की । लोकगायक तारापति सुवेदीले कौरा भाकामा आधारित नयाँ गीत ‘यो नानीको शिरको फुल’ सार्वजनिक गर्नु भएको छ। गीतमा शब्द सिर्जना स्वयं सुवेदीको रहेको छ भने स्वरमा तारापति सुवेदी र पूर्णकला बिसीको सहकार्य रहेको छ।

गीत सार्वजनिक गर्दै सुवेदीले भन्नु भयो , नेपाली लोकसंस्कृतिको महत्वपूर्ण सम्पदा मानिने कौरा गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ सिर्जना बजारमा ल्याएको छु । मगर समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको कौरा गीत आज सम्पूर्ण नेपाली समाजको साझा सांस्कृतिक सम्पत्ति बनेको उहाँको भनाई थियो ।

वि.सं. २०५० सालदेखि साङ्गीतिक यात्रामा सक्रिय सुवेदीले हालसम्म करिब तीन सयभन्दा बढी गीतमा स्वर दिइसक्नु भएको छ। उहाँले हरेक वर्ष औसतमा दुईवटा नयाँ गीत सार्वजनिक गर्दै आउनु भएको छ ।

पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै सङ्गीत उत्पादन सहज बने पनि नयाँ पुस्ताका कलाकारहरूले विभिन्न चुनौतीको सामना गर्नुपरेको सुवेदीले बताउनु भयो। “मोफसलमै रेकर्डिङ गर्न सकिने सुविधा विस्तार भएको छ, तर गीतलाई अन्तिम रूप दिन अझै पनि राजधानीकै भर पर्नुपर्ने अवस्था पूर्ण रूपमा अन्त्य भएको छैन,” उहाँले भन्नु भयो  ।

कौरा गीतप्रति युवापुस्ताको आकर्षण घट्दै गएको चिन्ता व्यक्त गर्दै सुवेदीले यस विधालाई जीवन्त राख्न आफ्नो युट्युब च्यानलमार्फत ‘यो नानीको शिरफुल’ सार्वजनिक गरिएको जानकारी दिनु भयो। उहाँले मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्तालाई कौरा सङ्गीतसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनु भयो।

साथै, केही स्रष्टाहरूले भ्युज र आर्थिक लाभको पछि लागेर मौलिक संस्कृतिलाई विकृत बनाउने प्रवृत्ति बढ्दै गएको भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नु भयो। “साङ्गीतिक सिर्जना मनोरञ्जन मात्र होइन, संस्कृति संरक्षणको माध्यम पनि हो,” सुवेदीले भन्नुभयो ।

लोकसंस्कृतिको संरक्षण र पुस्तान्तरणमा योगदान पुर्‍याउने अपेक्षासहित सार्वजनिक गरिएको ‘यो नानीको शिरफुल’ले कौरा संगीतप्रेमी दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास सुवेदीले व्यक्त गर्नु भयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.