राजनीति

रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नयाँ दिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्नुभएको छ । साथै उहाँले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले नेपाल ‘पहिलो छिमेकी’ नीतिअन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक उल्लेख गर्नुभएको छ ।

भेटका अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्ध, रास्वपा र भारतीय जनता पार्टी (भाजपा)बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा भारतीय विदेशमन्त्री डा एस जयशङ्कर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव विक्रम मिश्री लगायतको उपस्थिति थियो भने नेपालका तर्फबाट सभापति लामिछाने, उहाँकी धर्मपत्नी नीकिता पौडेल,  रास्वपाका नेता द्वय विपीन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको पनि सहभागिता थियो ।

भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको पाँचदिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । यसबीचमा सभापति लामिछानेले मङ्गलबार भारतका गृहमन्त्री  अमित शाह, विदेशमन्त्री डा  जयशङ्कर, भाजपाका अध्यक्ष नवीनलगायत उच्च पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्