डायस्पोरा

बार्सिलोनामा गित, संगीत, नृत्य र सांस्कृतिक प्रदर्शनी सहित नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न

बार्सिलोना । स्पेनको बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम’ नेपाली गित, संगीत, नृत्य र सांस्कृतिक प्रदर्शनी सहित भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिकाको सांस्कृतिक विभागको सहकार्यमा आइतबार ’नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको हो ।

विश्व प्रसिद्ध पर्यटकीय स्थल ’साग्राडा फ्यामिलि’या परिसरमा आयोजित कार्यक्रममा नेपाली झण्डा फहराउँदै दौरा–सुरुवाल, ढाका टोपी तथा भादगाउँले टोपीमा सजिएका नेपालीहरूले मौलिक सांस्कृतिक प्रस्तुतिमार्फत वातावरणलाई झंकृत बनाएका थिए ।

यस्तै चौबन्दी चोलो, गुन्यु–फरिया, हाकु पटासी, घलेक लगायतका नेपाली परम्परागत भेषभुषाका साथ नौगेडी, शिरफूल, तिलहरी, झुम्का र बुलाँकीजस्ता गहनामा सजिएका नेपाली दिदीबहिनीहरूले नेपाली संस्कृति र पहिचान प्रस्तुत गरेका थिए। नेपाली पाठशाला बार्सिलोनाका बालबालिकाहरूले मौलिक गीत–संगीतमा आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै स्पेनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत पूरक अधिकारीले नेपाली समुदायबिचको एकता र सांस्कृतिक पहिचान संरक्षणको आवश्यकता औँल्याए ।

थोरै संख्यामा रहेको नेपाली समुदाय पछिल्लो समय ठुलो संख्यामा विस्तार भएको उल्लेख गर्दै उनले अब नेपाली समुदायबिचको एकता अझ आवश्यक रहेको बताए ।

क्याटालोनिया संसद्का सदस्य अर्नेस्टो क्यारियन साब्लिचले यस्ता कार्यक्रमले नेपाली समुदायबिच एकता, सद्भाव र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले आप्रवासी नेपालीहरूको हितका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनको कामना गरे ।

मञ्चका अध्यक्ष विशाल ढुङ्गानाले कार्यक्रमले विश्वमाझ नेपाली कला, संस्कृति र पहिचानको प्रचार–प्रसार गरेको बताए । उनले कार्यक्रममा सहभागी सबै सङ्घ–संस्था, नेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास परिवार, कलाकार तथा दर्शकहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र एकताको अपेक्षा गरे । मञ्चका युरोप उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख गङ्गा भुषालले प्रवासी नेपालीहरूको सक्रियताले नेपालको पर्यटन विकासमा योगदान पुगेको उल्लेख गरे ।

मञ्चका महासचिव धिरज शर्माले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो। सल्लाहकार दिनेश गिरिले कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याएको बताए ।

मञ्चले सन् २०१७ देखि नयाँ वर्ष तथा दसैँ–तिहारका अवसरमा वर्षमा दुई पटक यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने ब्रोसर तथा सूचना केन्द्रसमेत राखिएको थियो।

कार्यक्रममा तमु समाज, मगर समाज, मोना स्पेन, तामाङ समाज, नेवार समाज तथा नेपाली पाठशाला परिवारले आ–आफ्नो भेषभूषासहित सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। कार्यक्रममा नेवारी कुमारीको उपस्थिति विशेष आकर्षणको केन्द्र बनेको थियो ।

सो अवसरमा नेपालीहरूको हक–हित र श्रम शोषणविरुद्धको अभियान तथा रोजगारी प्रवर्द्धनमा योगदान पुर्‍याएका व्यक्तित्वहरू मञ्चका उपाध्यक्ष केशवराज कँडेल, नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष केसरबहादुर थापा र सोनल पुनलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमका संयोजक गोविन्द अधिकारी, सल्लाहकार संयोजक कृष्णहरि कँडेल तथा संरक्षक श्यामप्रसाद खनालको संयोजनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि तथा स्पेनवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाली जनप्रगतिशील मञ्चका संरक्षक तथा युरोप सचिव अर्जुन आचार्य र कलाकार समी गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.