डायस्पोरा

बाढीबाट प्रभावित नागरिकको राहतका लागि एनआरएनएद्वारा सरकारलाई १ करोड हस्तान्तरण

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरेको छ।

सङ्घका अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो।

गैरआवासीय नेपाली सङ्घका पदाधिकारी तथा अभियन्ता र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट सङ्कलित रकममध्ये सङ्घले पहिलो चरणमा रु. १ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।

सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले बाढी तथा डुबानबाट भएको ठुलो क्षतिको पुनर्स्थापना र पुनर्निर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भएकाले एनआरएनएसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

विपद्को कठिन घडीमा एनआरएनएले प्रभावित स्थानमै पुगेर प्रत्यक्ष रूपमा राहत वितरण गर्नुका साथै रु. ५ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा सरकारका तर्फबाट धन्यवाद दिँदै उनले राहत, पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनएसँग सहकार्य र समन्वय गरिने बताए।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीहरू नेपालसँगै रहेको बताए। उनले राहत सामग्री, स्वास्थ्य शिविर, औषधि तथा चिकित्सकीय सेवा र पुनर्निर्माणका काममा एनआरएनए प्रत्यक्ष रूपमा सहभागी हुन तयार रहेको उल्लेख गरे।

गैरआवासीय नेपाली तथा विदेशी मित्रहरूबाट सहयोग जुटाउन सरकार र एनआरएनएबिच थप प्रभावकारी सहकार्य आवश्यक रहेको बताउँदै उनले विदेशमा रहेका नेपालीलाई विश्वासिलो साझेदारका रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरे।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्