डायस्पोरा

नेपाली सेना दिवस, ‘गोर्खालीहरू नेपाल–बेलायत मित्रताको जीवित प्रतीक’

लन्डन । बेलायतस्थित नेपाली दूतावासले नेपाली सेनाको २६३औँ स्थापना दिवसका अवसरमा सोमबार साँझ दूतावास परिसरमा विशेष समारोहको आयोजना गरेको छ। कार्यक्रममा नेपाल र बेलायत दुवै देशको राष्ट्रिय गान बजाइएपछि औपचारिक कार्यक्रम सुरु गरिएको थियो।

समारोहको उद्घाटन बेलायती सेनाका मेजर जनरल कार्ल बोस्वेल सीबीई र कार्यवाहक राजदूत विपिन दुवाडीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत दुवाडीले नेपाली सेनाको गौरवपूर्ण इतिहास र राष्ट्रप्रति पुर्‍याएको योगदानको चर्चा गरे। उनले सीमाको सुरक्षा, प्राकृतिक विपद्का बेला उद्धार तथा राहत कार्य, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिता लगायत क्षेत्रमा नेपाली सेनाले देखाएको व्यावसायिकता र समर्पणको प्रशंसा गरे। देशको रक्षा गर्दै ज्यान आहुति दिएका वीर सैनिकप्रति उनले श्रद्धाञ्जली अर्पण गरे।

मेजर जनरल बोस्वेलले २६३औँ स्थापना दिवसको अवसरमा नेपाली सेनालाई बधाई दिँदै यसको इतिहास, अनुशासन र विश्वव्यापी प्रतिष्ठाको खुलेर प्रशंसा गरे। उनले नेपाल–बेलायत सैन्य सम्बन्धलाई ‘अद्वितीय’ बताउँदै संयुक्त तालिम, विपद् व्यवस्थापन सहयोग, व्यावसायिक आदान–प्रदान र अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वप्रतिको साझा प्रतिबद्धताले दुई देशबीचको सम्बन्ध अझ सुदृढ भएको उल्लेख गरे। गोर्खा सैनिकहरू नेपाल–बेलायत मित्रताको जीवित प्रतीक भएको पनि उनले बताए।

कार्यक्रमको सुरुवातमा सैन्य सहचारी ब्रिगेडियर जनरल अनुप शाहले अतिथिहरूलाई स्वागत गर्दै नेपाली सेनाको अनुशासन, समर्पण र पेशागत दक्षताबारे प्रकाश पारेका थिए। कार्यक्रममा नेपाली सेनाका विभिन्न गतिविधि र उपलब्धिहरू समेटिएका श्रव्यदृश्य सामग्री पनि प्रदर्शन गरिएको थियो।

समारोहमा बेलायतस्थित उच्च सैनिक अधिकारी, विभिन्न देशका रक्षा सहचारी, सरकारी प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको दूतावासले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.