राजनीति

कांग्रेसले नेतृत्व र नीति दुवै परिवर्तन गरिसक्यो : उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसमा के परिवर्तन भयो भनेर प्रश्न गर्नेहरूलाई पार्टीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवाको नेतृत्वमा पुस्तान्तरण गरिसकेको जवाफ दिनुभएको छ ।

उहाँले कांग्रेसले देशका सम्पूर्ण समस्याको गहिरो विश्लेषण गरेर आफूलाई रूपान्तरण गरेको दाबी गर्नुभयो ।

शुक्रबार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गर्दै मुलुकको प्रधानमन्त्री नै ‘करार’ मा नियुक्त गर्न खोजिएको भन्दै व्यङ्ग्य गर्नुभयो ।

देशको प्रधानमन्त्री बन्ने विषय सामान्य कर्मचारी नियुक्त गरेजस्तो नहुने भन्दै उहाँले त्यसका लागि बलियो राजनीतिक आधार हुनुपर्ने टिप्पणी गर्नुभयो ।

उहाँले भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनपछि नेपाली कांग्रेसबाहेक अन्य कुनै पनि दल सुदृढ भएर जनतामाझ जान नसकेको बताउनुभयो । विभिन्न राजनीतिक दलप्रति लक्षित गर्दै उहाँले परिवर्तनको दाबी गर्ने दलहरू अझै पनि जनभावनाअनुसार चल्न नसकेको आरोप लगाउनुभयो ।

शर्माले नेकपा (एमाले) प्रति टिप्पणी गर्दै भन्नुभयो, “एमालेले विधान संशोधन गरेर दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाई तीन पटकसम्म अध्यक्ष हुन पाउने व्यवस्था गरेको छ ।” उहाँले माओवादीले नाम बदलेर विभिन्न मोर्चा बनाए पनि कांग्रेसले भने नेतृत्व र नीति दुवैमा पुस्तान्तरण गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “रास्वपाले करारमा प्रधानमन्त्री नियुक्त गर्ने सल्लाह गरेको छ भन्छ । करारमा कर्मचारी नियुक्ति त सुनिएको थियो तर प्रधानमन्त्री बनाउन त राजनीतिक जग (फाउन्डेसन) हुनुपर्छ । गगन थापाले कांग्रेसको चारतारे झन्डा बोकेर दरबारका अगाडि गणतन्त्रको नारा लगाउँदा यो पार्टीको जगमा युवा नेतृत्वको उपस्थिति थियो ।”

उपसभापति शर्माले मुलुकको व्यवस्था स्थापित गर्न लामो समयसम्म संघर्ष गरेको नेतृत्वले पार्टी चलाइरहेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षाका लागि कांग्रेसलाई मतदान गर्न अपिलसमेत गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.