एक्सक्लुसीभ

देश मिलाउने, सम्हाल्ने र सबैलाई समेट्ने शक्ति काँग्रेस हो: सभापति थापा

पोखरा। नेपाली काँग्रेसका सभापति गगन थापाले बद्लिएर आएको काँग्रेसले अब भ्रष्टाचार न्यूनीकरण गर्दै देश सम्हाल्ने जिम्मेवारी लिन सक्ने दाबी गर्नु भएको छ ।

नेपाली काँग्रेस गण्डकी प्रदेशको बैठकमा शुक्रवार पोखरामा सम्बोधन गर्नुहुँदै उहाँले हाल समाजमा नागरिकको व्यापक आक्रोश, राज्यका संस्थाप्रति चरम अविश्वास र सामाजिक कोलाहाल देखिएको उल्लेख गर्दै त्यसलाई सम्हाल्ने ऐतिहासिक जिम्मेवारी अब काँग्रेसको काँधमा आएको उहाँले बताउनुभयो ।

भ्रष्टाचारलाई देशको सबैभन्दा ठुलो शत्रुको संज्ञा दिँदै उहाँले व्यक्तिमा होइन, प्रणाली र संस्थागत सुधारमा काँग्रेसको विश्वास रहेको स्पष्ट पार्नुभयो । “हामीसँग जादुको छडी छैन। तर सही नियम, प्रक्रिया र संस्था बनाएर देश चलाउने क्षमता काँग्रेससँग छ,” सभापति थापाको भनाई थियो । काँग्रेस भ्रष्टाचारविरुद्ध बद्लिएर आएको पार्टी भएको दाबी गर्दै आगामी पाँच वर्षमा सिङ्गो काँग्रेस एक ढिक्का भएर अघि बढेको उहाँको भनाई थियो ।

“घृणा र प्रतिशोधको राजनीति गर्न सक्ने पार्टी होइन काँग्रेस, देश मिलाउने, सम्हाल्ने र सबैलाई समेट्ने शक्ति काँग्रेस हो,” उहाँले भन्नुभयो । राष्ट्रिय पार्टी र राष्ट्रिय शक्ति पार्टीबिच स्पष्ट भिन्नता रहेको उल्लेख गर्दै उहाँले काँग्रेस केवल संसद् र सरकारमा सीमित नभई राष्ट्रको अभिभावकका रूपमा देशका समस्या पहिचान गरी समाधान गर्ने सङ्कल्प बोकेको राष्ट्रिय शक्ति भएको दाबी गर्नुभयो । सभापति थापाले भन्नुभयो, “राष्ट्रिय पार्टीले संसद्मा हैसियत बनाउँछ, सरकारमा जान्छ—त्यो एउटा पक्ष हो। तर राष्ट्रिय शक्तिको जिम्मेवारी भनेको राष्ट्रमा देखिएका समस्या चिन्नु, तिनको सम्बोधन गर्ने अठोट गर्नु र राष्ट्रको अखण्डता जोगाउन जस्तोसुकै चुनौती सामना गर्न कटिबद्ध हुनु हो।”

सभापति थापाले तराई–पहाड, स्वदेश–विदेशका नेपाली सबैलाई समेट्दै नागरिकसँगै बसेर व्यवस्था सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “पहिला नागरिक सहित देश सम्हाल्नुपर्छ, त्यसपछि परिवर्तन चाहेको व्यवस्थालाई सुधार गर्नुपर्छ ।” उहाँले भन्नुभयो । सभापति थापाले ‘काखा–पाखा’ नगरी सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाउँदै नेता–कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा होमिन निर्देशन दिनुभयो । उहाँले ‘घर फर्क अभियान’ सुरु गरिएको जानकारी दिँदै विगतमा दुःख गरेका नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्नुभयो।

२०६० सालतिर काँग्रेस सबैभन्दा बढी माओवादी हिंसाबाट प्रभावित भएको स्मरण गर्दै सभापति थापाले हिंसाबाट समाजलाई मुक्त गराउने नेतृत्व काँग्रेसले नै लिन सक्ने दाबी गर्नुभयो । सामाजिक सञ्जालका हल्लाबाट नआत्तिन आग्रह गर्दै उहाँले उम्मेदवार र नेता–कार्यकर्तालाई मतदाताको घर–घरमा पुग्न निर्देशन दिनुभयो । काँग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको एक मात्र पार्टी भएको दाबी गर्दै उहाँले कास्की–३ सहित गण्डकी प्रदेशका १८ वटै क्षेत्रमा विजयी हुने लक्ष्यका साथ अघि बढ्न आग्रह गर्नुभयो । “अब देशमा आन्दोलन होइन, स्थिरता चाहिन्छ। त्यसको जिम्मेवारी काँग्रेसले लिन्छ,” उहाँको भनाई थियो ।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि सभापति थापा पहिलो पटक पोखरा आएसँगै उहाँलाई शुक्रवार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित नेता कार्यकर्ताले स्वागत गर्नु भएको काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताउनुभयो ।

प्रदेश बैठकपछि सभापति थापाले जिल्ला सभापतिहरूसँग निर्वाचन तयारी र पार्टी सुदृढीकरणबारे छलफल समेत गर्नुभएको छ । गण्डकी प्रदेशका ११ जिल्लामा रहेका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीलाई केन्द्रित गर्दै नीति, नेतृत्व र परिवर्तनको सन्देश मतदातासम्म पुर्‍याउने रणनीतिमा बैठक केन्द्रित रहेको क्षेत्रीय सचिव ठाकुर बरालले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.