एक्सक्लुसीभ

घोषणापत्र तयारीमा व्यस्त राजनीतिक दलका नेता

काठमाडौँ । राजनीतिक दलका नेता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न जुटेका छन् । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्न दलका नेता पार्टी कमिटीका सुझावसहित विषयविज्ञ राखेर घोषणापत्र तयार गर्न गृहकार्यमा लागेका हुन् ।

भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन, देशमै रोजगारीलगायत मुद्दा केन्द्रमा राखेर दलहरूले घोषणापत्र ल्याउने तयारी गरेका छन् । पुराना दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल यसअघिका निर्वाचनमा भन्दा फरक खालको घोषणापत्र ल्याउनुपर्ने चुनौतीमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीलगायत नयाँ दल पुराना दलभन्दा फरक देखिने गरी घोषणापत्र ल्याउनै पर्ने दबाबमा छन् । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्न आकर्षक नारासहित घोषणापत्र लेखनमा नेताहरू धमाधम लागेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले हप्ता दिनभित्रै घोषणापत्र तयार गरेर जनताका बिचमा जाने जानकारी दिनुभयो । “हामीले सभापतिको नेतृत्वमा घोषणापत्र लेखन समिति बनाएका छौँ । अहिले नियमित बैठक बसेर छलफल गरेका छौँ । विगतका घोषणापत्र, पार्टीका नेता र विषयविज्ञ राखेर घोषणपत्र ल्याउँदै छौँ । कतिपय कुरा नीतिगत हुने भएकाले दस्ताबेजका रूपमा आएपछि मात्र बोल्दा राम्रो हुन्छ,” उहाँले भन्नुभयो ।

प्रवक्ता चालिसेले भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह सहज बनाउने एजेन्डा केन्द्रमा राखेर घोषणापत्र तयार गरिने बताउनुभयो । “जनताले राजनीतिबाट के पाए ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने छ । राजनीति भनेको सत्ताका लागि मात्र होइन, जनताका लागि हो । राजनीतिमा मूल्य स्थापित हुनु पर्छ र जनतामा आशा जगाउनु पर्छ, निराशा बाँड्ने होइन । यसैलाई व्यवहारमा कसरी उतार्ने भनेर हामी खोजिरहेका छौँ”, उहाँले भन्नुभयो, “देशको आर्थिक समृद्धिको चित्र स्पष्ट देखिने गरी घोषणापत्र तयार हुने छ ।”

एमालेको घोषणापत्र तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको समिति गठन गरेको पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई आधार बनाएर अध्यक्षकै नेतृत्वमा घोषणापत्र लेखन समिति गठन गरिएकाले अन्तिम रूप दिएपछि मात्रै सबै भन्न सकिने उहाँले बताउनुभयो । “अध्यक्षकै नेतृत्वमा घोषणापत्र लेखन समिति गठन भएको छ । पार्टीका साथी र विषयविज्ञ राखेर घोषणापत्र तयार हुँदै छ,” उहाँले भन्नुभयो, “घोषणापत्र लेखन समितिको बैठक बसेर अन्तिम रूप दिइने छ । त्यसपछि जनताका बिचमा सार्वजनिक हुने छ ।”

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं घोषणापत्र लेखन समितिका सदस्य डिपी ढकालले घोषणपत्र लेखनको काम धमाधम भइरहेकाले छिट्टै सार्वजनिक हुने जानकारी दिनुभयो । “हामीले घोषणापत्रमा पहिलो प्राथमिकता सुशासनलाई राखेका छौँ । सुशासन कसरी कायम गर्ने र देशलाई कसरी भनसुनबिना चल्ने प्रणालीमा लैजाने भन्ने छ”, उहाँले भन्नुभयो, “पारदर्शी रूपमा काम गर्ने वातावरण बनाउने, देशमा भ्रष्टाचाररहित प्रणाली बनाउने कुरालाई जोड दिएका छौँ ।” देशको आर्थिक वृद्धिले मात्रै सामाजिक न्याय र दिगो विकास नहुने भएकाले सामाजिक न्यायलाई प्रमुख आधार बनाएको उहाँले टिप्पणी गर्नुभयो । “अहिलेको विकासको मोडल र आर्थिक सुधारको चरणलाई नयाँ ढङ्गले सोचेका छौँ । देशको राजनीतिक स्थिरताका लागि संविधान संशोधनका पुरानै एजेन्डा समावेश गरिने छ,” उहाँले भन्नुभयो ।

घोषणापत्रको मसौदा लेखनको काम भइरहेकाले पार्टी कमिटीका सुझाव र विषयविज्ञका मत समेट्ने काम भइरहेको उहाँले बताउनुभयो । पार्टी नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा बनेको घोषणापत्र लेखन समितिको बैठक बसेर निर्णय गरेपछि छिट्टै जनतामा पुग्ने उहाँले बताउनुभयो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा घोषणापत्र लेखन समिति गठन गरेको पार्टी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो । वाग्लेको नेतृत्वमा पार्टीका नेता र विषयविज्ञ राखेर घोषणापत्र लेखन समिति बनाउने समझदारी भएको उहाँले बताउनुभयो । निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेकाले घोषणापत्र जनतामा लैजान ढिला नहुने उहाँको भनाइ छ । राप्रपा, जसपालगायत दलहरूले समेत घोषणापत्र लेखनको काम धमाधम जारी राखेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.