एक्सक्लुसीभ

कांग्रेस बैठक : महाधिवेशनको विषयमा सर्वसम्मत निर्णय गर्ने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नियमित महाधिवेशन या विशेष महाधिवेशन गर्ने विषयमा सर्वसम्मत निर्णयका लागि निरन्तर छलफल हुँदै आएको छ। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् रौतहट जिल्लाका पूर्वसभापति मोहम्मद अफताव आलमको निधनप्रति शोक प्रस्ताव पारित भएको र आज आइतबार पार्टी कार्यालय बन्द गरिएको जानकारी दिनुभयो।

पौडेलले भन्नुभयो, “नेपाली कांग्रेसको बैठक आज थियो। हाम्रो नेता मोहम्मद अफताव आलम बित्नुभयो। कांग्रेसको परम्परा अनुसार, कांग्रेसको संस्कृति अनुसार केन्द्रीय समितिको सदस्य बित्दा शोक प्रस्ताव पारित गर्छन्। तीन दिन पार्टी कार्यालयको झण्डा झुकाइन्छ। एक दिन पार्टी कार्यालय बन्द गर्छ।”

उहाँले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति कात्तिक २५ गते बिहान साढे ११ बजे तय भएको जानकारी दिनुभयो।

उहाँले नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा जम्मा दश वटा एजेण्डामा छलफल भइरहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको दश वटा एजेण्डामा छलफल भइरहेको छ। त्योमध्ये नेपाली कांग्रेसको जुन विशेष अधिवेशन दर्ता भएको छ। फागुन २१ गतेको चुनावको कुरा जुन आइरहेको छ। नेपाली कांग्रेसले यी सबै एजेण्डामा छलफल, विचार बहस गर्छ।”

उहाँका अनुसार बैठकमा सबै नेताहरुको विचार सुनेर सर्वसम्मत निर्णय हुनेछ।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। यसमा प्रत्येक नेताले आफ्नो विचार राख्न पाउँछ। बहुविचार, बहुसंस्कार, बहुलवादमा आधारित पार्टी भएको कारणले सबैका विचारहरु आइरहेका छन्। यी विचारहरलाई सुन्छौं, बुझ्छौं। र अन्तिममा नेपाली कांग्रेसले सर्वसम्मत निर्णय गर्छ।”

उहाँले बैठकमा नियमित महाधिवेशन र विशेष महाधिवेशन दुवै विषयमा सुनुवाई हुने भनाइ राख्नुभयो।

उहाँले भन्नुभयो, “विशेष महाधिवेशनलाई पनि सम्बोधन गर्छ। नियमित महाधिवेशनलाई पनि सम्बोधन गर्छ। चुनावलाई पनि सम्बोधन गर्छ। सबै कुरा ठीक–ठीक समयमा उचित ढङ्गले उचित समयमा सबै निर्णय सकारात्मक गर्छ।”

उहाँका अनुसार बैठकमा एक सय ७५ जना नेताले बोल्नुहुने छ। जसमध्ये अब ५३ जना नेताले आफ्नो विचार राख्न बाँकी छ। प्रत्येक नेतालाई बोल्नका निम्ति ११ मिनेट समय दिइएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जेन्जी आन्दोलनको विकसित परिस्थितिमा गत असोज २८ गतेदेखि सुरु भइ असोज ३१ र ३१ गते बसेको थियो। त्यसपछि कात्तिक १३, १४, १८, १९, २०, २१ गते बैठक बस्यो।

तत्पश्चात् कात्तिक २२ गते आकस्मिक बैठक बसेर नेता आलमको शोक प्रस्ताव पारित गरिएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.