‘जेनजीको माग पूरा गर्न संसद पुनःस्थापना गर्नुपर्छ’
परासी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले चुनावको तयारीसँगै एमाले संसद पुनःस्थापनाको एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभएको छ । नवयुवा पुस्तासहित असन्तुष्ट पक्षका माग सम्बोधन गर्न संसद पुनःस्थापना नै उत्तम विकल्प रहेको उहाँले जिकिर गर्नुभयो ।
पश्चिम नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै एमाले नेता ज्ञवालीले फागुन २१ मा तोकिएको चुनाव गराउने पक्षमा सरकार नदेखिएको दाबी गर्नुभयो ।
“चुनाव हुने सम्भावना एमालेले आजको मितिसम्म देखेको छैन्, पहिलो कुरा चुनाव गराउने सरकारको मनसाय नै देखिँदैन्, चुनाव गराउँदा उनीहरुको उद्देश्य पूरा हुँदैनन्” उहाँले भन्नुभयो, “सुरक्षाकर्मीबाट लुटिएको एक हजार बढी हतियार बाहिर छन्, भगाइएका १४ हजार कैदीमध्ये साढे ५ हजार अझै पनि बाहिरै छन् । गम्भीर अपराधमा संलग्न उनीहरूलाई कतिबेला कसले प्रयोग गर्छ, टुङ्गो छैन् । प्रहरीको मनोबल घटेको छ, यस्तो अवस्थामा चुनाव हुन्छ भनेर कसरी विश्वास गर्ने ?”
भदौ २३ गतेको घटनालाई आधार बनाएर राजनीतिक दलहरूलाई जसरी पनि फसाउने र २४ गतेको घटनालाई विद्रोहको संज्ञा दिएर उन्मुक्ति दिने सरकारको नियत देखिएकाले चुनाव हुने वातावरण नदेखिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले संसद पुनःस्थापनाका लागि एमालेले दवावमूलक कार्यक्रमहरू अघि बढाउने बताउँदै विचलित नभई उच्च मनोबलका साथ अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “पुनःस्थापित हुने संसदले सर्वदलीय सहमतिको सरकार बनाउने, त्यसले जेनजी लगायतका असन्तुष्ट पक्षसँग वार्ता गर्ने, त्यसको आधारमा संविधान संशोधन गर्ने, आवधिक चुनाव गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने, यो कोर्सबाट अघि बढ्दा मुलुकले निकास पाउँछ भन्ने हाम्रो पार्टीको धारणा हो ।”
भदौ २३ र २४ गतेको जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी योजनाबद्ध रूपमा मुलुकलाई कमजोर बनाउने गरी विध्वंसात्मक गतिविधि गरिएको बताउँदै एमाले उपमहासचिव ज्ञवालीले केही पात्रहरू संविधान र लोकतन्त्र समाप्त पार्ने खेलमा लागिरहेको जिकिर गर्नुभयो। एमालेले महाधिवेसन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुङ्गो लगाउने उहाँले स्पष्ट पार्नुभयो ।