राजनीति

सरकारलाई कानूनी शासनको मर्यादामा रहन सचेत गराउने काँग्रेसको निर्णय 

काठमाडौँ । नेपाली काँग्रेसले संवैधानिक मर्यादामा रहन र जनसरोकारका काममा केन्द्रित हुन सरकारलाई सचेत गराएको छ । 

नेपाली काँग्रेसको यही मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारलाई कार्यशैली सच्याउन र कानूनी शासनको मर्यादामा रहन सचेत गराउने निर्णय गरेको हो ।

बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार षडयन्त्र र प्रियतावादमा नभई विधिसम्मत ढङ्गले चलोस् र राष्ट्रिय हितमा केन्द्रित होस् भन्ने काँग्रेसको धारणा रहेको बताउनुभयो ।

सरकारका राम्रा काममा साथ रहने भन्दै काँग्रेसले सरकारको सफलता वा असफलताभन्दा संविधान, लोकतन्त्र, राष्ट्र हित र जनजीविकाका सवाललाई आफ्ना लागि महत्वपूर्ण रहेको बैठकको निर्णयमा भनिएको छ ।

यस्तै कांग्रेसको संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र जिम्मेवारीपूर्ण व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमतिका रुपमा नबुझ्न पनि बैठकले सरकारलाई सचेत गराएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको प्रतिपक्षीय भूमिकालाई थप प्रभावकारी बनाउने, लोकतन्त्र, विधिको शासन र जनजीविकाका सवालमा संसद्, सार्वजनिक मञ्च तथा लोकतान्त्रिक विधिबाट निरन्तर खबरदारी गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बाढी पिडित र सुकुम्वासीका समस्या समाधानका लागि सरकारलाई सचेत गराउने, पार्टीले सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानको कार्यविधि निर्धारण गर्ने, गत भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित छानबिन, प्रतिबद्धता र निर्णयको अवस्था बारे सरकारसँग जवाफ माग्ने लगायतका निर्णयहरू गरेको नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्