राजनीति

स्थानीय तह निर्वाचनको तयारीमा जुटे प्रमुख राजनीतिक दल

काठमाडौँ । आगामी स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै विभिन्न राजनीतिक दल चुनावको पूर्वतयारीमा जुटेका छन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनलक्षित क्यान्डिडेट क्लबमार्फत उम्मेदवारी आवेदन माग गरेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले इलेक्सन ब्युरो बनाएको छ भने नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तहलक्षित अभियान तथा भेलाका कार्यक्रम अघि बढाएका छन् ।

विभिन्न पदका लागि आवेदन आउने क्रम जारी रहेको र पार्टीले पूर्वनिर्धारित प्रक्रियाबाटै छनोट कार्य अघि बढाइरहेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

प्रवक्ता खरेलले भन्नुभयो, “गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उल्लेख्य र वडा सदस्यका लागि न्यून सङ्ख्यामा आवेदन परेका छन् । नगरपालिकाका विभिन्न पदका लागि उम्मेदवारी दिन चाहनेहरूको पनि आवेदन परिरहेको छ । पार्टीले उम्मेदवार छनोटका लागि तय गरेका विधि प्रक्रिया अनुसार उम्मेदवारको छनोट प्रक्रिया अघि बढ्दै छ ।”

नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालको नेतृत्वमा रहेको इलेक्सन ब्युरोले निर्वाचनमा उम्मेदवार छनोटका लागि मापदण्ड निर्माणको काम गरिरहेको पार्टीका सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेसमा अब पहिलाको जस्तो खल्तीबाट उम्मेदवार बनाउने अवस्था अन्त्य हुँदै छ । वडा तहदेखि माथिल्लो तहसम्म क्रियाशील सदस्यले छानेको व्यक्तिलाई पहिलो प्राथमिकता दिएर टिकट दिइने छ । टिकट पाउन दलका ठुला नेताको घरदैलो चहार्ने अवस्था हुने छैन ।”

नेकपा (एमाले) का प्रचार विभाग प्रमुख नीरज आचार्यले पार्टीले गत असारदेखि मिसन पार्टी जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय निर्वाचन पूर्वतयारीका लागि स्थानीय तहमा केन्द्रीय प्रतिनिधि पठाएर पार्टीका बैठक, भेला गर्नुका साथै पार्टी सदस्यता नवीकरण गरिरहेका छौँ । आगामी मङ्सिर २ र ३ गते राष्ट्रिय भेला, मङ्सिर २८ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्दै छौँ ।”

नेपाली कम्युनिस्ट पार्टीले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्मका लागि राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । स्थानीय तहको चुनावलक्षित सङ्गठन सुदृढीकरण र जनसम्बन्ध गाढा बनाउने उद्देश्यले अभियान सुरु गरिएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय जागरण अभियान अन्तर्गत केन्द्रका नेताहरू पालिका तहमा गइरहनुभएको छ । पालिकास्तरमा सङ्गठनको स्थिति कस्तो छ, उम्मेदवार बनाउन कुन कार्यकर्ता जनतामाझ लोकप्रिय र पार्टी कार्यकर्ताद्वारा रुचाइएका छन्, त्यसको सर्वेक्षणको काम पनि हुँदै छ ।” यस्तै राजनीतिक दलले पनि पालिकालक्षित विभिन्न गतिविधि सञ्चालन गरिरहेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्