अमेरिका

अमेरिकी मध्यावधि निर्वाचन: रिपब्लिकन र डेमोक्र्याटबिच कडा प्रतिस्पर्धा

निर्वाचनमा दुवै पार्टीका लागि गर या मरको स्थिति भएका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प देश दौडाहामा हुनुहुन्छ र उहाँले र्‍याली र आमसभामा सम्बोधन गरिरहनुभएको छ भने डेमोक्र्याटले पनि पुर्व राष्ट्रपति बराक ओबामालाई चुनावी र्यालीहरुमा मतदाता रिझाउन बक्ताको रुपमा उभ्याएको छ।

लस-एन्जल्स । आउँदो मङ्गलबार अर्थात् नोभेम्बर ३ मा अमेरिकामा तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ र माथिल्लो सदन सिनेटको मध्यावधि निर्वाचन हुँदै छ । राष्ट्रपति निर्वाचनको ठिक दुई वर्षपछि हुने भएकाले यो निर्वाचनलाई अमेरिकामा ‘मिड टर्म निर्वाचन’ का नामले परिचित छ ।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बन्नुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको यी दुवै सदनमा स्पष्ट बहुमत भएका कारण हाल राष्ट्रपतिले कार्यकारी अधिकारको प्रयोग गर्दै स्वतन्त्र रूपले कानुन निर्माण गरिरहनुभएको छ । यो मध्यावधि निर्वाचनबाट उहाँको त्यो अधिकारमाथि सङ्कुचन हुने छ वा थप मजबुत हुने छ भन्ने निक्र्योल हुने भएकाले यो निर्वाचनलाई अमेरिकामा मात्र होइन, विश्वभर उत्सुकतासाथ हेरिएको छ ।

विशेष गरी, आप्रावासी प्रति नश्लीय भाषा प्रयोग गर्दै आएका रिपब्लिकन पार्टीका नेताहरुको भाषण, जातिय घृणा र कठोर अध्यागमन नीतिका कारण रिप्बलिकनले आप्रावासी मत गुमाउने अनुमान गरिएको छ । हिस्पानिक र भारतीय मुलका मानिसहरु प्रति अध्यागमन कानुनका नाममा गरिएको दुर्ब्यबहारले पनि यस अघि रिपब्लिकनले पाएको मत समेत गुमाउने अवस्था छ। जसले यसपटक निर्वाचन परिणाममा प्रभाव पार्ने राजनीतिक विश्लेषकहरुको अनुमान छ । राष्ट्रपतिले दुई वर्षको कार्यकालमा के कस्तो कामकारबाही गरे, जनताको विश्वास जित्ने काम गरे वा गरेनन् भनेर समीक्षा गर्ने समय वा मापन गर्ने ‘ब्यारोमिटर’ भएकाले यसलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

अमेरिकाको सङ्घीय संसद्मा दुई सदन छ– तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ र माथिल्लो सदन सिनेट । अमेरिकाको तल्लो सदनमा कुल ४३५ जना सिनेटर रहने व्यवस्था छ भने माथिल्लो सदन सिनेटमा प्रत्येक राज्यबाट दुई/दुई जना सिनेटर रहने संवैधानिक व्यवस्था छ । अहिले अमेरिकाको तल्लो सदन हाउसमा रिपब्लिकन पार्टीका २१८ जना प्रतिनिधि रहनुभएको छ भने डेमोक्रेटिक पार्टीका २१४ जना प्रतिनिधि रहनुभएको छ । त्यसै गरी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका ५३ जना र दुई जना स्वतन्त्र सिनेटरसहित ४७ जना डेमोक्रेटिक पार्टीका हुनुहुन्छ ।

राष्ट्रपतिको अधिकारमाथि धावा बोल्न र उहाँको अधिकार कटौती गर्नका लागि यो निर्वाचनमा डेमोक्रेटिक पार्टीले कम्तीमा पनि दुवै सदनमा चार चार सिट जित्नुपर्ने छ । वालस्ट्रिट र न्युयोर्क टाइम्सले गरेको निर्वाचनअघिको मत सर्वेक्षणमा हाउसमा डेमोक्रेटहरूको बहुमत पुग्ने उल्लेख गरेका छन् भने सिनेटमा भने कसको पल्ला भारी हुन्छ भनेर भन्न सक्ने स्थिति नभएको बताएका छन् ।

यस पटक तल्लो सदनका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटको झन्डै एक तिहाइ अर्थात् ३५ स्थानमा निर्वाचन हुँदै छ । यसबाहेक राज्यका ३६ गभर्नर, राज्यको सर्वोच्च अदालत, महान्यायाधिवक्ता, राज्यका विभिन्न कार्यकारी प्रमुखहरू, स्थानीय कार्यालयका प्रमुख, राज्य विधायिकालगायत झन्डै ४४ हजार प्रतिनिधि निर्वाचित हुने छन् । सबै जसो राज्यमा गत अक्टोबर १५ देखि नै अग्रिम मतदानको व्यवस्था गरिएका कारण बिहीबारसम्ममा चार करोड ३० लाख मतदाताले मतदान गरिसकेको कुरा पिबिएस समाचारले जनाएको छ । यो सङ्ख्या सन् २०२२ को भन्दा एक करोडले बढी हो । यसले यो पटक मतदातामा केही उत्साह बढेको देखिन्छ ।

निर्वाचनमा दुवै पार्टीका लागि गर या मरको स्थिति भएका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प देश दौडाहामा हुनुहुन्छ र उहाँले र्‍याली र आमसभामा सम्बोधन गरिरहनुभएको छ भने डेमोक्र्याटले पनि पुर्व राष्ट्रपति बराक ओबामालाई चुनावी र्यालीहरुमा मतदाता रिझाउन बक्ताको रुपमा उभ्याएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्