नेपाल

बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ। यसको प्रभाव आगामी बुधबारदेखि नेपालमा देखिन थाल्ने र बिहीबारदेखि विस्तार हुने सम्भावना छ। शुक्रबार र शनिबार मौसमको प्रभाव थप बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसम विज्ञान विभागका अनुसार बुधबार देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात र पहाडी क्षेत्रमा छिटपुट वर्षाको सम्भावना छ। बिहीबारदेखि भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत वर्षा र हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै किसानलाई धान काट्ने तथा भित्र्याउने योजना बनाउँदा सावधानी अपनाउन सुझाव दिइएको छ। त्यस्तै, यात्रा तथा उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्नेहरूले मौसमको पछिल्लो जानकारी लिएर मात्रै योजना बनाउनुपर्ने देखिएको छ।

सम्भावित वर्षा र हिमपातका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। प्रतिकूल मौसमले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागका पछिल्ला सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्