राजनीति

नेपाली कांग्रेसका २४ नेताद्वारा पार्टी एकताको सामूहिक छलफल र संवाद सुरु

काठमाडौं । नेपाली कांग्रेसका २४ केन्द्रीय नेताहरूले पूर्ण एकताका लागि महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्।

देश गम्भीर संकट र विपद्को अवस्थामा रहेको तथा राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएको अवस्थामा पार्टीभित्रको विवादले राष्ट्रिय राजनीतिमै नकारात्मक असर पारेको भन्दै नेताहरूले संयुक्त विज्ञप्ति जारी गरी यस्तो आह्वान गरेका हुन्।

नेताहरूले कांग्रेसको आन्तरिक कलहकै कारण समग्र राष्ट्रिय राजनीतिलाई समेत सही दिशा दिन कठिन भइरहेको र यस्तो अवस्थामा विवादलाई थप चर्कन वा पार्टीलाई विभाजित हुनबाट जोगाउन नेतृत्व पंक्ति गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

विज्ञप्तिमा आगामी १५औं महाधिवेशनमार्फत कांग्रेसको सबल नेतृत्व चयन र स्पष्ट दिशा तय गर्न पार्टी सभापति गगन थापाको भूमिका विशेष महत्त्वपूर्ण रहने उल्लेख गरिएको छ।

नेताहरूले पार्टी सभापतिको रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै दुवै पक्षबाट जारी गरिएका १५औं महाधिवेशनको कार्यतालिका तत्कालका लागि स्थगन गर्न माग गरेका छन्। विगतका तिता–मिठा अनुभव र मतभेदलाई बोकेर बस्नुभन्दा पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने निष्कर्ष विज्ञप्तिमा निकालिएको छ।

सार्वजनिक अपील गर्ने नेताहरूमा महालक्ष्मी उपाध्याय डिना, नैनसिंह महर, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा र सीताकुमारी राना रहेका छन्। त्यसैगरी सरस्वती बजिमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरुङ, शान्ति परियार, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौडेल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, इन्द्रबहादुर बानियाँ, अनिल रुंगटालगायतका नेताहरूले विज्ञप्तिमा हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाएका छन्।

संवेदनशील घडीमा संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी एकताबद्ध र शक्तिशाली कांग्रेस निर्माणमा जुट्न सबै पक्षलाई भेटेरसमेत आग्रह गरिएको नेता महरले बताए।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्