भोटे कोशी बाढी पछि नेपाली डायस्पोराले पुर्याएको योगदान अतुलनिय : काँग्रेस सह-महामंत्री लामा
लस एन्जलस । नेपाली काँग्रेसका सह-महामंत्री बहादुर सिंह लामाले भोटे कोशी बाढीले ध्वस्त भएको रसुवा र नुवाकोटको पुनर निर्माणमा नेपाली डायस्पोराले पुर्याएको योगदानको उच्च दिलले प्रसंसा गरेका छन् ।
मंगलबार नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्नियाले आयोजना गरेको समुदाय भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मातृभूमिमा आएको प्राकृतिक बिपत्तिमा साथ दिने नेपाली डाएसपोराको नेपाली नागरिकता निरन्तरताको लागि आफुले संसद र सरकारमा निरन्तर आवाज उठाएको जानकारी दिनु दिए ।
सह-महामंत्री लामाले, ‘भोटे कोशी बाढी आएको दिनबाट आफुले उद्धार र राहतको कार्यक्रम सुरु गरेको र त्रिशुली पारीको बन्द रोड सुचारु गर्न आफ्नो ३ वटा डोजर प्रयोग गरेको बताउदै अकल्पनीय मानवीय र भौतिक क्षति भएको नुवाकोट र रसुवाको पुर्बधार निर्माणका लागि विदेशमा बसेका नेपालीको सहयोग अमुल्य हुने जानकारी दिए ।
लामाले अन्तराष्ट्रिय समुदाय विशेष गरि भारत र भारतीय डायस्पोराले गरेको सहयोग अतुल्य रहेको बताउदै शैक्षिक प्रतिष्ठान पुनर्निर्माण, घरबार बिहिनलाई बास र अनाथलाई सहारा दिने कार्यमा पनि यसरीनै सहयोग पाउने अपेक्षा गरे।
नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्नियाका सभापति राम चन्द्र लामिछानेले मुलुकको यो बिपत्तिमा जनसम्पर्क समिति रसुवा र नुवाकोटका जनताको साथमा रहेको बताउदै नेपाली काँग्रेस मार्फत पहिलो चरणको राहत वितरण गरिएको जानकारी दिदै आगामी दिनमा पनि सहयोग निरन्तर जारि रहने बताए।
लामिछानेले मातृभूमिको हरेक दुखमा साथ् रहेका विदेशिएका नेपालीको बंसजको नागरिकता खोसिएकोमा दुख व्यक्त गर्दै नेपाली नागरिकता निरन्तरताको लागि पहल गर्न आग्रह गरे।
कार्यक्रममा भोटेकोशी बाढीमा मर्नेहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने समितिका उपसभापति अजित घिमिरेले सहभागीहरुलाई स्वागत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा समुदायका अगुवाहरु ऋषि ढकाल, भक्त थापा, अर्जुन पौडेल, राजेश पाण्डे, राम बाबु पाण्डे र नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्य लोक तिम्सिनाले लस एन्जलसको नेपालीहरु मातृभूमिको विपतमा तन, मन र सकेको धन सहित नेपालीको साथमा रहेको बताए।
कार्यक्रम नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्नियाका कोषाध्यक्ष शम्सेर भण्डारी सुवासको संयोजन र सभापति राम चन्द्र लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो।