नेपाल

सुस्तामा भारतीय सशस्त्र सीमा बल नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद

भारतीय पक्षले बाँध भत्काएपछि अप्रिय घटना हुन नदिन नेपालको सशस्त्र प्रहरी बल पनि घटनास्थल पुगेको छ । स्थानीयले भने नेपाली प्रशासनले ठोस कदम चाल्न नसकेको आरोप लगाउँदै आएका छन् । सुस्ताका विषयमा सुस्ता बासीले काठमाडौँमा आन्दोलन गरेपछि गृह मन्त्रालयको छलफलमा सिमामा सुरक्षा फौज बढाइने सहमति भएपछि उनीहरू जिल्ला फर्किएका थिए ।तर समस्या ज्युका त्युँ देखिँदा यसको दीर्घकालीन समाधान आवश्यक देखिन्छ।

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ ।

स्थानीयका सन्जित शर्माका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरू हतियारसहित ६० जनाको सङ्ख्यामा एसएसबी नेपाली भूमि पसेका थिए ।

“सुरुमा सिभिलमा आएका भारतीय सुरक्षाकर्मीले बाध भत्काउन थाले पछि स्थानीय प्रतिकार गर्दा झन्डै १ सय बढी भारतीय सुरक्षा फौज मैदानमा आएपछि झडप सुरु भो” शर्माले बताउनुभयो।

उनीहरूले सुस्ता गाउँपालिका ५ थारु टोलमा बन्दै गरेका १३२ मिटर लामो माटोको कच्ची अस्थायी बाँध भत्काइदिएका स्थानीयको भनाई छ । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्काएपछि स्थानीयबासी प्रतिवादमा उत्रिएका छन् ।प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले घटना भइसकेपछि दिउसै सामान्य भइसकेको बताउनुभयो ।

भारतीय एसएसबी दुई देशको सीमा मानिएको सिमलको रुखभन्दा ३ सय मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको स्थानीयको दाबी छ स्थानीयले रोक्ने प्रयास गरेपनि हतियारसहित आएकाले रोक्न विफल भएपछि थप विवाद उत्पन्न भएको भनाई छ । दुवै पक्ष संयमित हुनु पर्ने र त्यसका लागि प्रशासनले प्रक्रिया अघि बढाइरहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । “दुवै पक्ष संयमित हुनुपर्ने जरुरी देखिन्छ, ईसुको उठान भएसँगै विवाद भन्दा त्यसको कूटनैतिक समाधान खोजिनु पर्छ,कतिपय व्यवहारिक पक्ष छन्” सिडियो नेपालले भन्नुभयो ।

यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेर बाँध निर्माणको काम रोक्न दबाब दिएपछि रोकिएको थियो । सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ ।

सीमा स्तम्भको अभाव, नारायणी नदीले धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक–पटकको हस्तक्षेपका कारण त्यहाँ विवाद दोहोरिने गरेको छ ।नेपाल र भारत दुवै पक्षले सिमलको रुखलाई सीमा स्तम्भको रुपमा लिएका छन् ।तर उक्त रुख बाट वरै नेपाली भूमिमा एसएसबी पसेर बाध भत्काएको स्थानीयको भनाई छ ।

भारतीय पक्षले बाँध भत्काएपछि अप्रिय घटना हुन नदिन नेपालको सशस्त्र प्रहरी बल पनि घटनास्थल पुगेको छ । स्थानीयले भने नेपाली प्रशासनले ठोस कदम चाल्न नसकेको आरोप लगाउँदै आएका छन् । सुस्ताका विषयमा सुस्ता बासीले काठमाडौँमा आन्दोलन गरेपछि गृह मन्त्रालयको छलफलमा सिमामा सुरक्षा फौज बढाइने सहमति भएपछि उनीहरू जिल्ला फर्किएका थिए ।तर समस्या ज्युका त्युँ देखिँदा यसको दीर्घकालीन समाधान आवश्यक देखिन्छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्