आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति
सहमति अनुसार सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई कडाका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । साथै, ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका शीघ्र तयार गर्ने र स्वास्थ्य संस्थामा हुने तोडफोड तथा चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कडा कानुनी कारबाही गर्ने सहमति भएको छ ।
वीरगञ्ज । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि देशभर जारी चिकित्सक आन्दोलन फिर्ता भएको छ ।
सहमतिसँगै वीरगञ्जस्थित नारायणी अस्पतालसहित देशभरका स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्य सेवा पुनः आज साँझदेखि सञ्चालन भएका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कानुन, गृह, उद्योग मन्त्रालयका प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारीहरूबिच भएको छलफलपछि पाँच बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।
सहमति अनुसार सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई कडाका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । साथै, ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका शीघ्र तयार गर्ने र स्वास्थ्य संस्थामा हुने तोडफोड तथा चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कडा कानुनी कारबाही गर्ने सहमति भएको छ ।
सहमतिपत्रमा स्वास्थ्य संस्थाको सुरक्षाका लागि विशेष कार्ययोजना तयार गर्ने, नेपाल चिकित्सक सङ्घको सहकार्यमा संयुक्त कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगतिबारे नियमित समीक्षा गर्ने व्यवस्था समेत समेटिएको छ ।
सरकारसँग सहमति बनेपछि नेपाल चिकित्सक सङ्घले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्दै ओपिडी लगायतका नियमित सेवाहरू सञ्चालन गर्न मातहतका निकायलाई आह्वान गरेको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा सुरु भएको यो आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प बनेका थिए ।