राजनीति

सरकार चुनौतीको सामना गर्दै अघि बढेको छ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुद मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले वर्तमान सरकार आफ्नो गतिमा काम गरिरहेकाले सकारात्मक परिणाम देखा पर्न थालेको बताउनुभएको छ ।

शिक्षामन्त्री पोखरेलले आज जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान सरकारलाई अवसर तथा चुनौती दुवै रहेकाले चुनौतीको सामना गर्दै देशको विकास तथा समृद्धिको यात्रामा अघि बढेको बताउनुभयो ।

प्रवक्ता पोखरेलले सरकारले देशमा धेरै काम गर्नुपर्ने भएकाले भएका अवसरहरूको सदुपयोग गर्दै अगाडी बढेकाले छोटो समयमा पनि मुलुकमा सुशासन तथा जनतालाई परिवर्तनको अनुभूति गराउने गरि काम गरेको बताउनुभयो ।

राजर्षि जनक विश्व विद्यालयका सह–कुलपति समेत रहनुभएका शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयमा भएका समस्याहरूको समाधान गर्न उपकुलपतिसँग भेटवार्ता गरी विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रशासनिक व्यवस्थापन तथा भौतिक पूर्वाधार विकासका विषयमा विस्तृत छलफल गर्न आएको बताउनुभयो ।

उहाँले राजर्षि जनक विश्वविद्यालयलाई फरक तथा परिष्कृत किसिमले सञ्चालन गर्ने सोचमा सरकार रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन आवश्यक सबै पक्षसँग समन्वय गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

एक अर्को प्रश्नको जवाफमा मन्त्री पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले यस सम्बन्धमा तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको बताउनुभयो ।

उहाँले एक फरक प्रश्नमा प्रश्नपत्र बाहिरिएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिँदै प्रश्नपत्र बाहिर गर्ने मुख्य आरोपीलाई २४ घण्टाभित्रै पक्राउ गरेर कारबाही अगाडी बढाइसकेको जानकारी दिँदै यस घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्