एक्सक्लुसीभ

‘स्थापित पद्धति र परम्परा तलमाथि हुन थाले मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्दछ भन्नुभएको छ । राष्ट्रपति पौडेलले कानुन दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । 

विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकुल प्रभावले मानव समाज भयभीत हुन थाल्दछ भन्ने पनि हामीले बिर्सन हुन्न भन्ने उहाँको भनाई थियो । “त्यसैले सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार र उपचार दुवै हुन् भनेर सम्झने र बुझ्ने पुनीत दिनलाई नै कानून दिवसको रुपमा मनाइन्छ, कानून दिवसको यही मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र संवृद्ध नेपालको कल्पना गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको छ भन्नुभयो ।

साथै उहाँले प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.