अर्थ

बाँकेमा ८४ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकियो

नेपालगञ्ज । बाँकेमा कुल धान खेतीयोग्य क्षेत्रफलको ८४ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब ३३ हजार ७ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म २८ हजार ३ सय ७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । केही दिनयताको वर्षापछि रोपाइँले तीव्र गति लिएको भए पनि आकाशे पानीमा निर्भर केही क्षेत्रहरूमा अझै रोपाइँ बाँकी रहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेका अनुसार जिल्लामा सिक्टा सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र तथा अन्य सिँचाइ सुविधा पुगेका स्थानमा किसानले रोपाइँ सम्पन्न गरिसकेका छन् । तर, वर्षाको भर पर्नुपर्ने केही क्षेत्रहरूमा पर्याप्त पानी नपुग्दा रोपाइँ अझै पूरा हुन सकेको छैन ।

उहाँका अनुसार बाँकेमा सामान्यतया असार दोस्रो सातादेखि धान रोपाइँ सुरु भई भदौ पहिलो सातासम्म चल्ने गर्छ । यस वर्ष मनसुन ढिलो सक्रिय भएकाले रोपाइँ केही ढिलो सुरु भए पनि पछिल्ला दिनमा परेको वर्षाले किसानलाई राहत पुगेको छ ।

किसानहरूका अनुसार पछिल्ला केही दिनको वर्षाले खेतमा पर्याप्त चिस्यान पुगेपछि रोपाइँ तीव्र रूपमा अघि बढेको छ । मौसम अनुकूल रही नियमित वर्षा भइरहे साउनभित्रै बाँकी क्षेत्रहरूमा पनि रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्