खेलकुद

नेपाल व्यायाम मन्दिर नयाँ स्वरूपमा पुनः सञ्चालनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बिहीबार रिबन काटेर उद्घघाटन गरेसँगै नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ ।

वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुखेल हुँदै ज्याठामा आएर स्थापित यस व्यायाम मन्दिरलाई समयसापेक्ष स्वास्थ्य तथा फिटनेस आवश्यकतालाई ध्यानमा राख्दै नयाँ स्वरुपमा बनाएर सञ्चालन गरिएको हो ।

चीनको ’फिटनेस च्वाइस’ नामक संस्था मार्फत १ करोडभन्दा बढी मूल्यका आधुनिक व्यायाम मेसिन तथा उपकरणहरू ल्याएर जिममा जडान गरिएको छ । नयाँ स्वरूपमा महिला र पुरुषका लागि छुट्टाछुट्टै स्टिम, साउना बाथ र कार्डियो स्टेसनका साथै दुवैका लागि छुट्टाछुट्टै शौचालयहरूको समेत निर्माण गरिएको छ । नयाँ थपिएका यी उपकरणहरूको सहायताले अब जिममा एकै सिफ्टमा ८० देखि १०० जनासम्मले सहज रूपमा व्यायाम गर्न सक्ने क्षमता पुगेको बताइएको छ ।

व्यायाम मन्दिरमा नियमित जिमका अतिरिक्त जुम्बा, विशेष योग कक्षाहरू र किकबक्सिङ प्रशिक्षणलगायत खेलकुदका अन्य विविध गतिविधिहरु समेत सञ्चालन हुने व्यवस्था मिलाइएको छ । नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानका अनुसार व्यायामशाला जाडोयाममा बिहान ६ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म र गर्मीयाममा बिहान ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म खुला रहनेछ । यो एउटा जनस्तरीय तथा जनताको व्यायामशाला भएकाले सेवाग्राहीहरूका लागि लिइने सेवा शुल्क तुलनात्मक रुपमा सस्तो र सुलभ राखिएको सञ्चालकहरूले जनाएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्