भरत ताल निर्माणमा पूर्वमन्त्री साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री, पूर्वमेयरसहित सात जनावरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरतकुमार थापालगायतविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो।
बागमती नगरपालिका–११ मा निर्माणाधीन भरत तालको दोस्रो चरणको निर्माण ठेक्का प्रक्रियामा प्रतिस्पर्धा सीमित गरी गैरकानुनी लाभ लिएको र सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरेको अनुसन्धानका क्रममा पुष्टि भएपछि आयोगले आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
पहिलो चरणको मूल गुरुयोजना (डीपीआर) मा समावेश नै नभएका र आवश्यकता तथा औचित्यविनाका संरचना दोस्रो चरणमा थप गरी सरकारी रकम दुरुपयोग गरिएको आयोगको ठहर छ। दोस्रो चरणको ठेक्कामा प्रतिस्पर्धा सीमित गराउन बोलपत्रमा जटिला मापदण्ड राखी बिकोई/धुलिखेल जेभीलाई अनुकूल हुने गरी ठेक्का सम्झौता गरिएको आरोप अख्तियारको छ ।