पानी नपर्दा मुगु र हुम्लाका कृषक चिन्तित, बालीनाली सुक्न थाले
समयमै वर्षा नहुँदा मुगु र हुम्लाका दुर्गम बस्तीहरूमा खाद्य संकट, सङ्कटग्रस्त पशुपालन र कष्टकर जनजीवनको भयावह चित्र देखिएको छ। प्रभावित स्थानीयले तत्काल खानेपानी तथा राहतको व्यवस्था गर्न र दीर्घकालीन रूपमा सिँचाइ तथा जलस्रोत विकासका योजना ल्याउन सरकारसँग माग गरेका छन्।
बिनोद कुमार मल्ल, मुगु । समयमै वर्षा नहुँदा मुगु र हुम्लाका दुर्गम बस्तीका कृषक गम्भीर सङ्कटमा परेका छन्।
साउनको पहिलो साता बितिसक्दा पनि पर्याप्त पानी नपरेपछि खेतबारीमा लगाइएका बाली सुक्न थालेका छन् भने कतिपय क्षेत्रमा खानेपानीको समेत चरम अभाव भएको छ।
मुगुको सोरु गाउँपालिका–३ भिई गाउँ र हुम्लाको अदानचुली गाउँपालिका–१ कल्क्याँमा लामो खडेरीका कारण चिनो, काउनी, कोदो र गहतलगायतका रैथाने बाली खेतमै सुकेका छन्। पूर्ण रूपमा वर्षामा निर्भर खेती प्रणाली रहेका यी क्षेत्रमा बेलैमा पानी नपर्दा यस वर्ष खाद्यान्न संकट गहिरिने चिन्ताले किसानलाई पिरोल्न थालेको छ।
भिई गाउँका ७१ वर्षीय कृषक दलबहादुर कार्की भन्नुहुन्छ, “साउन लागिसक्यो, तर पानीको अत्तोपत्तो छैन। खेतमा लगाएको चिनो, काउनी, कोदो र गहत सबै सुक्दै गए। खेतीबाली सखाप भएपछि यहाँ रोजगारीको अन्य विकल्प पनि छैन। अहिले साहुसँग उधारो चामल मागेर गुजारा चलाइरहेका छौँ, ऋणको भार दिनदिनै थपिँदो छ।”
सोही गाउँका ७५ वर्षीय कृषक पदमे कुमालको पीडा पनि कम छैन। “तरकारी र सागपातको त कुरै छाडौँ, अहिले नुन–पानीसँग सेतो चामलको भात खाएर दिन काट्नुपर्ने बाध्यता छ। पानी नहुँदा खेती मात्र होइन, हाम्रो सिङ्गो जीवन नै कष्टकर बनेको छ,” उहाँले गुनासो गर्नुभयो।भिई गाउँमा करिब ३ सय ८० भन्दा बढी घरधुरी रहेका आठ वटा बस्ती छन्। जिल्ला सदरमुकाम गमगढीबाट करिब दुई दिनको पैदल दूरीमा रहेको यो दुर्गम गाउँ हुम्ला र बाजुराको सिमानासँग जोडिएको छ। भौगोलिक रूपमा विकट यस क्षेत्रमा अहिले खेतीपाती मात्र नभई पिउने पानीको समेत हाहाकार भएको स्थानीय बताउँछन्।
अहिले खुर्सानीजस्ता सामान्य तरकारी बचाउन समेत धाराको पानी बोकेर सिँचाइ गर्नुपर्ने अवस्था छ। लामो खडेरीका कारण परम्परागत पानीका मुहानहरू सुक्दै गएका छन् भने पानी र चरनको अभावकै कारण धेरै पशुचौपाया समेत मरेका छन्। स्थानीयका अनुसार सुख्खा भूभाग भएकाले पानी नपर्दा बोटबिरुवा र बालीनाली टिक्नै सक्दैनन्।
समयमै वर्षा नहुँदा मुगु र हुम्लाका दुर्गम बस्तीहरूमा खाद्य संकट, सङ्कटग्रस्त पशुपालन र कष्टकर जनजीवनको भयावह चित्र देखिएको छ। प्रभावित स्थानीयले तत्काल खानेपानी तथा राहतको व्यवस्था गर्न र दीर्घकालीन रूपमा सिँचाइ तथा जलस्रोत विकासका योजना ल्याउन सरकारसँग माग गरेका छन्।