डायस्पोरा

बाढीबाट प्रभावित नागरिकको लागि एनआरएनएद्वारा त्रिशूलीमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान आठौँ दिन पनि निरन्तर जारी रहेको छ।

एनआरएनएले रसुवाका बाढीपीडितलाई आज पनि राहत सामग्री हस्तान्तरण गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित एल्लो गुम्बा र मुस्ताङ गुम्बामा आश्रय लिइरहेका परिवार तथा बालबालिकाको दैनिक जीवन सहज बनाउन विभिन्न राहत सामग्री उपलब्ध गराइएको हो।

एनआरएनएका तर्फबाट ६ थान कुलर, २ थान डीप फ्रिज, २०० थान सेनेटरी प्याड, ६ प्याकेट डाइपर, ३४० थान चप्पल, ३०० थान ब्ल्याङ्केट, ३०० थान टावेल र ३०० थान सिरानी हस्तान्तरण गरिएको छ। उक्त सामग्री गोसाइँकुण्ड गाउँपालिका–१ का वडा अध्यक्ष उर्केन छिरिङ तामाङलाई हस्तान्तरण गरिएको हो।

यसअघि पनि आश्रयस्थलमा रहेका परिवारको आवश्यकतालाई ध्यानमा राख्दै ६ थान कुलर र २ थान डीप फ्रिज हस्तान्तरण गरिएको थियो। आज थप ६ थान कुलर र २ थान डीप फ्रिजसहित अन्य आवश्यक राहत सामग्री उपलब्ध गराइएको हो। कुलर तथा डीप फ्रिज एनआरएनएका सह–कोषाध्यक्ष अब्दुल बसिद्ले प्रायोजन गरेका हुन्।

बाढी प्रभावितका लागि विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट सहयोग आउने क्रम जारी छ। सहयोग रकम संकलनलाई थप प्रभावकारी बनाउन एनआरएनएले विभिन्न एनसीसी तथा सम्बन्धित पक्षसँग आज थप समन्वय तथा संवाद गरेको छ। सो क्रममा बाढी प्रभावितका लागि आर्थिक सहयोग संकलनमा भइरहेको पहल तथा प्रगतिबारे जानकारी लिँदै थप सहयोग जुटाउन एनसीसीहरूलाई अनुरोध गरिएको छ।

बाढी प्रभावित नुवाकोटको बाघटारमा स्वास्थ्य शिविर सञ्चालनका लागि गएको एनआरएनए नेतृत्वको चिकित्सकसहितको टोली प्रतिकूल मौसम र सडकको अवस्थाका कारण साँझ मात्र नुवाकोट पुगेको छ। खराब मौसम तथा सडक अवरुद्ध भएका कारण टोलीलाई गन्तव्यसम्म पुग्न दिनभर समय लागेकाले स्वास्थ्य शिविर भोलिदेखि सञ्चालन हुने भएको छ।

बागमती प्रदेश सरकारको समन्वयमा त्रिशूली प्रादेशिक अस्पतालमा सञ्चालन हुने शिविरको नेतृत्व ग्लोबल स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेल र एनआरएनए आईसीसी सदस्य डा. सञ्जीव सापकोटाले गर्नेछन्। टोलीमा एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठलगायत सहभागी छन्।

शिविरमा करिब २५० बाढी प्रभावित परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा औषधि वितरण गरिनेछ। साथै सरसफाइसम्बन्धी सचेतना, विपद् व्यवस्थापन तथा प्राथमिक उपचारसम्बन्धी तालिमसमेत प्रदान गरिने एनआरएनएले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्