भोटेकोशी बाढी जलवायु परिवर्तनबाट सृजित समस्या हो, अधिकारको दावी गरौ: सांसदहरू
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढी जलवायु परिवर्तनबाट सृजित समस्या भन्दै सांसदहरूले अन्तर्राष्ट्रिय समुदायसँग नेपाले क्षतिपूर्ति माग गर्नुपर्ने सुझाएका छन् । प्रतिनिधि सभामा शून्य तथा विशेष समयमा सांसदहरूले अन्तर्राष्ट्रिय सहयोगभन्दा अधिकार माग गर्नुपर्ने धारणा राखेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विनाशकारी बाढीको सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग गर्नुपर्ने धारणा राख्नुभयो । बाढीका कारण नेपालमा भएको विनाशमा अन्तर्राष्ट्रिय समुदाय जिम्मेवार रहेको धारणा झाले राख्नुभयो ।
उहाँले कार्बन उत्सर्जनमा नेपालको भूमिका एक प्रतिशतभन्दा कम रहेको बताउँदै अमेरिका, चीन, भारत जस्ता राष्ट्रबाट हुने उत्सर्जन बढी रहेको पनि बताउनुभयो । सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर ध्यानाकर्षण र क्षतिपूर्ति माग गर्ने बेला आएको सांसद झाको भनाइ छ । अन्तर्राष्ट्रिय मञ्चमा सरकारका तर्फबाट प्रधानमन्त्री स्वयम् उपस्थित भई आवाज उठाउनुपर्ने सुझाव पनि झाले दिनुभयो ।
सुरुङमा फसेकाको जानकारी माग
सत्तारूढ रास्वपाका सांसद दीपक बोहोराले बाढीमा हराइरहेका नागरिकको खोजीमा सरकारले तदारुकता देखाउनुपर्ने धारणा राख्नुभयो । उद्धार र खोजी कार्यमा ढिलाइ भइरहेको भन्दै बोहोराले सरकारको ध्यानाकर्षणसमेत गर्नुभयो । जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता भएका व्यक्तिहरू जीवित छन् वा छैनन् कसले भनिदिने भन्ने प्रश्नसमेत उहाँले राख्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद बलावती शर्माले विपत्पछिको उद्धारमा विदेशी सहायता नलिएको विषयमा सरकारको धारणा माग गर्नुभयो । विदेशी विज्ञले सहयोगको वचन दिँदा सरकारले पाँच दिनसम्म सहायता किन नलिएको भन्ने प्रश्न पनि शर्माले गर्नुभयो । रास्वपाका सांसद हरि पन्तले बाढीमा परी हराइरहेका पर्साका नागरिकको खोजी कार्यका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बेपत्ता खोजिदिन अपिल
सभाको शून्य समयमा अधिकांश सांसदले बाढीबाट पीडितको उद्धार, राहत, पुनस्र्थापनामा ध्यानाकर्षण गराएका छन् । साथै सांसदहरूले आफू निर्वाचित जिल्ला र क्षेत्रका नागरिक खोजबिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद चन्द्रमोहन यादवले भोटेकोशी बाढीले नेपाललाई विपत् व्यवस्थापनमा थप सचेत बन्न चेतावनी दिएको बताउनुभयो । सांसद जगदीश खरेलले बेपत्ता भएका नागरिकका परिवारको अवस्था दुःखद रहेको बताउनुभयो । सांसद जनकसिंह धामीले पनि बेपत्ता नागरिकको खोजी कार्य प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
सांसद पुनम अग्रवालले जलवायु परिवर्तनको एजेन्डालाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने धारणा राख्नुभयो । सांसद प्रदीप विष्टले रसुवा बाढीमा बेपत्ता भएका कीर्तिपुरका नागरिकबारे सरकारसँग जानकारी माग गर्नुभयो ।
सांसद प्रमिला गच्छदारले बाढीले जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको चाँडो उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेमलाल चौधरीले इलाम तथा मोरङलगायतका क्षेत्रका नागरिकको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।