राजनीति

मधेशमा तीन दलको समर्थनमा नयाँ सरकार गठनको दाबी

जनकपुरधाम। मधेश प्रदेशमा मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकार ढल्ने संकेतसँगै नयाँ सत्ता समीकरण बन्ने तयारी भएको छ।

नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनको दाबी बुधबार प्रदेश प्रमुखको कार्यालयमा पेश गरेका छन्।

बुधबार एमालेले मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको हो। एमालेले औपचारिक निर्णय गर्दै जनमत नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसका संसदीय दलका नेता कृष्ण यादवको नेतृत्वमा सरकार गठनसहितको दाबी पेश गरेका हुन्।

तीन दलका नेताले बुझाएको पत्रमा नेपाली कांग्रेस संसदीय दलका नेता माननीय कृष्णप्रसाद यादवलाई मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त गर्न सिफारिस गरिएको छ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले बहुमत प्राप्त दल वा दलहरूको गठबन्धनबाट सरकार गठनका लागि आह्वान गरेपछि ती दलहरूले बुधबार दाबी प्रस्तुत गरेका हुन्।

दाबीपत्र अनुसार एमाले, कांग्रेस र जनमत गरी तीन राजनीतिक दलका ५८ जना प्रदेशसभा सदस्यहरूको समर्थन रहेको उल्लेख गरिएको छ, जुन अहिले प्रदेशसभामा कायम रहेका सदस्यसंख्याको बहुमत हो।

हाल मधेश प्रदेश सभामा १० दल प्रतिनिधित्व गर्दै आएका छन्। जसमा जम्मा १०७ जना प्रदेशसभा सदस्य छन्। तीमध्ये तीन दलका ५८ सांसदको समर्थनमा नयाँ सरकार गठनको दाबी भएको हो।

यसअघि जनमत पार्टीले पनि मुख्यमन्त्री सिंहलाई पार्टीमा फिर्ता बोलाउँदै स्पष्टिकरण सोधेको थियो। पार्टीले स्पष्टिकरण नदिए कारबाही गर्ने चेतावनीसमेत दिएको थियो। मुख्यमन्त्री सिंहले गत भदौमा ‘जेनजी आन्दोलन’का क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरे पनि पछि पदमा यथावत् रहनुभएको थियो।

सिंहलाई आफ्नै पार्टी जनमतले समर्थन नदिएपछि नेपाली कांग्रेसले पनि आफ्नो समर्थन फिर्ता लिएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.