एक्सक्लुसीभ

गौरा पर्वको मुख्य दिन आज, अठ्यावाली धूमधामसँग मनाइँदै

बर्खे खेतीपाती सकेर फुर्सदको समयमा मनाइने गौरा पर्वमा देश–विदेशमा रहेका आफन्तसमेत घर फर्कने गर्छन्। गौरामा नयाँ लाउने र मिठो खाने चलन रहेको छ। धनी–गरिब नभनी सबैले आफ्नो गच्छेअनुसार पर्व मनाउने गर्दछन्। गौरा पर्वको अन्तिम दिन नदीमा बाजागाजासहित गौरा विसर्जन गर्ने परम्परा छ।

कृष्ण बिष्ट, बैतडी। गौरा पर्वको महत्वपूर्ण दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली आज बैतडीसहित सुदूरपश्चिममा धुमधामका साथ मनाइँदै छ। गौरा पूजनका हिसाबले महिलाहरूले आजको दिनलाई विशेष महत्वका साथ मनाउने गर्दछन्।

दुबोले गौराको पूजा गरिने भएकाले यस दिनलाई दुर्वाष्टमी भनिएको हो।

पवित्र धागोबाट निर्माण गरिएको ‘दुवधागो’ विधिपूर्वक अभिमन्त्रित गरी महिलाहरूले निराहार बसेर आज धारण गर्ने चलन छ। दुवधागो धारण गरेका महिलालाई पवित्र मानिने र उनीहरूलाई गौरा पूजन तथा भात–भान्सा गर्ने पहिलो अधिकार रहने परम्परा रहेको छ।

अठेवालीका दिन महिलाहरू बिहानै खोला तथा तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवी र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट आँगनमा ल्याएर शृङ्गार गर्छन्। त्यसपछि सगुन गीत गाउँदै गौरा देवीको प्रतिमालाई टाउकोमा राखेर नाच्ने गर्दछन्।

सुदूरपश्चिमेली संस्कृतिका ज्ञाता धर्मानन्द जोशीका अनुसार महेश्वर र गौरासम्बन्धी गीत आठ अध्यायमा गाइने भएकाले यसलाई अठेवाली भनिएको हो। अठेवाली गीत गाउँदा महिलाहरूले एकअर्काको कान्छी औँला अठ्याएर गोलो घेरा बनाई परम्परागत नृत्य प्रस्तुत गर्छन्।

गौराको पहिलो दिन पाँच अन्न भिजाएर तयार पारिएको बिरुडा पूजाआजामा प्रयोग गरिन्छ। अठेवालीका दिन बिरुडा घरमा लगेर पकाएर खाने चलनसमेत छ। पहिले प्रतिष्ठित व्यक्तिको घरमा सामूहिक रूपमा बिरुडा भिजाउने चलन रहे पनि अहिले गौरा मन्दिर, सगोल तथा घरघरमा बिरुडा भिजाउने गरिएको छ।

हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको हो। अविवाहित युवतीहरूले शिवजस्तै पति पाऊँ भन्ने कामनासहित व्रत बस्ने र अठेवालीका दिन गौरा देवीको प्रतिमा टाउकोमा राखेर नचाउने गर्छन्।

Gaura Parva

अठेवालीका दिन पुरुषहरूले भने धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन्। धुमारी, ढुस्को तथा ठाडो खेलमा महाभारत, रामायणलगायत धार्मिक ग्रन्थमा आधारित कथा प्रस्तुत गरिन्छ।

महिलाले गौरा नचाएपछि साँझतिर डालोमा राखिएका फलफूल तथा बिरुडालाई दुई पुरुषले आकाशमा फाल्ने चलन छ, जसलाई ‘फल फड्काउने’ भनिन्छ। फल आकाशमा चुमेमा चिताएको मनोकामना पूरा हुने विश्वास रहेको पण्डित हरिदत्त भट्ट बताउनुहुन्छ।

अठेवालीका दिन पुरुषहरूले जनै फेर्ने र व्रत बसेका महिलाले नयाँ दुवधागो धारण गर्ने गर्छन्। बिरुडा घरमा ल्याएपछि ठुलाबडाले सानालाई पूजा गर्ने चलन पनि छ।

बर्खे खेतीपाती सकेर फुर्सदको समयमा मनाइने गौरा पर्वमा देश–विदेशमा रहेका आफन्तसमेत घर फर्कने गर्छन्। गौरामा नयाँ लाउने र मिठो खाने चलन रहेको छ। धनी–गरिब नभनी सबैले आफ्नो गच्छेअनुसार पर्व मनाउने गर्दछन्। गौरा पर्वको अन्तिम दिन नदीमा बाजागाजासहित गौरा विसर्जन गर्ने परम्परा छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्