मर्स्याङ्दी नदीमा जलसतह बढ्दो, उच्च सतर्कता अप्नाउन आग्रह
काठमाडौँ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार लमजुङको मर्स्याङ्दी नदी भकुण्डेबेशीस्थित जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको छ ।
महाशाखाका अनुसार सो जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाले बिहानसम्मै उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शुक्रबार र शनिबार देशभर साधारणतया बादल लाग्नेछ । सो दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी, देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म्को वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।