पृथ्वी राजमार्ग नै भासिएर अवरुद्ध बनेको कृष्णभिरमा डाइभर्सन खोल्ने प्रक्रिया सुरु
चितवन। पृथ्वी राजमार्ग नै भासिएर अवरुद्ध बनेको कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटानको प्रक्रिया सुरु भएको छ । प्राविधिक तथा विज्ञहरूको सुझाव र प्रतिवेदनका आधारमा डाइभर्सन निर्माणका लागि प्रक्रिया सुरु गरिएको सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले जानकारी दिनुभयो ।
“डाइभर्सन खोल्ने प्रक्रियाअनुसार अहिले सडकसँगै रहेको भित्ता काट्नुअघि सरसफाइको काम सकिएको छ,” उहाँले भन्नुभयो, “सरसफाइ र झाडी फाल्ने काम सकिएपछि अब डाइभर्सन कसरी निर्माण गर्ने भन्ने सम्बन्धमा विज्ञहरूको डिजाइन आइसकेको छ । सोहीअनुसार फिल्डमा काम हुनेछ ।”
भिर कटानका लागि पृथ्वी राजमार्ग मुग्लिन–मलेखु निर्माण आयोजनालाई जिम्मेवारी दिइएको छ । आयोजनाका इन्जिनियर धीरज ढकालले भिर कटानका लागि काम सुरु भएको जानकारी दिनुभयो ।
“भिरको कटान हामी दुवैतर्फबाट गर्दै छौँ । त्यसका लागि दुवैतर्फ एक–एकवटा स्काभेटर परिचालन गरिनेछ,” उहाँले भन्नुभयो । भिर कटान गर्नुअघि अहिले साना बुट्यान र रूखहरू हटाउने काम गरिएको उहाँले बताउनुभयो ।
भिर कटानका लागि १५ जना विज्ञ तथा प्राविधिक र ६० जना कामदार उपकरणसहित राजमार्गमा परिचालन भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।
कृष्णभिरमा डाइभर्सन खोल्ने सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको नेतृत्वमा सडक विभागका महानिर्देशक विजय जैसीसहित विज्ञहरूको बैठक मङ्गलबार बसेको थियो । बैठकले कृष्णभिरको कटानबाट आगामी दिनमा हुन सक्ने थप जोखिमको मूल्याङ्कन गर्दै बाध्यात्मक अवस्थामा अल्पकालीन रूपमा राजमार्ग सञ्चालनमा ल्याउन भिर कटान गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
बैठकले जियोटेक्निकल सोसाइटीलाई जोखिम कम हुने गरी भिर कटानका लागि प्राविधिक डिजाइन तयार गर्न निर्देशन दिएको थियो । सोसाइटीकी महासचिव कल्पना अधिकारीले सोसाइटीले डिजाइन तयार गरी उपलब्ध गराएको बताउनुभयो ।
“कृष्णभिरको कटान जटिल र गम्भीर विषय हो । तर डाइभर्सन नखोली पनि भएको छैन,” उहाँले भन्नुभयो, “भिर कटान गर्दा प्राविधिक रूपमा कम क्षति होस् भन्नेमा विशेष सतर्कता अपनाइएको छ ।”
“राजमार्गसँगै सकेसम्म दुई लेन, नभए एक लेन कटानका लागि प्राविधिक रूपमा सिफारिस गरिएको छ,” उहाँले भन्नुभयो ।
त्रिशूली नदीको निरन्तर कटानका कारण गत आइतबार कृष्णभिरमा १२० मिटर लम्बाइमा पूरै राजमार्ग भासिएको छ । डाइभर्सनका लागि भिरतर्फ सात मिटर चौडाइ र १५० मिटर लम्बाइसम्म कटान गर्ने तयारी भइरहेको छ ।
कमजोर भूधरातलमा रहेको कृष्णभिरको भू–प्राविधिक परीक्षणपछि मात्रै डाइभर्सन खोल्न सकिएको भए थप जोखिम मोल्नुपर्ने अवस्था नआउने विज्ञहरूले औँल्याएका छन् । सडक विभागकी सिनियर डिभिजन इन्जिनियरसमेत रहनुभएकी महासचिव अधिकारी तत्काल सडक खुलाउनुपर्ने अहिलेको बाध्यता रहेको बताउनुहुन्छ ।
“दीर्घकालीन समस्या समाधानका लागि कृष्णभिरको जोखिमका बारेमा समीक्षा गर्नुपर्ने हुन्छ । तर अहिले त राजमार्ग खुलाउनै पर्ने जनदबाब छ,” उहाँले भन्नुभयो ।