साहित्य

नेपाली मुक्तक एल्बम सार्वजनिक

काठमाडौँ । नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक भएको छ। ‘मुक्तक’ नामक एल्बम काठमाडौँमा सार्वजनिक गरिएको हो।

मुक्तककार रश्मि असफल, राधा कणेल र घनेन्द्र ओझाका २–२ वटा मुक्तक विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा तयार पारिएको हो।

एल्बम छन्द सारथि, छन्दकवि रमेश खकुरेल, पूर्व मुख्यसचिव तथा क्यानाडाका लागि पहिलो नेपाली राजदूत साहित्यकार डा. भोजराज घिमिरे, कवि एवं समालोचक प्राडा. देवी नेपाल, सङ्गीतकार गायक कन्हैया सिंह परियार, स्रष्टाका मातापिता मीरा कणेल, लक्ष्मीभक्त कणेल, बद्रीप्रसाद ओझालगायतले सार्वजनिक गर्नु भएकाे थियाे।

एल्बममाथि टिप्पणी गर्दै प्राडा. देवी नेपालले मुक्तक आफैँमा छोटोमा विशिष्ट र चामत्कारिक अभिव्यक्ति दिने विधा भएको उल्लेख गर्दै पहिलो पटक नेपाली मुक्तकलाई एल्बमका रूपमा ल्याइएकामा बधाई दिनुभयाे।

नेपालले गर्न बाँकी काम खोज्दै ती काम गर्ने स्वभाव स्रष्टा ओझा र सङ्गीतकार र गायक श्रेष्ठको रहेको भन्दै त्यसकै उपज उक्त एल्बम रहेको बताउनु भयाे ।

प्रा. डा. नेपालले नेपाली मुक्तक लेखनमा अझै परिष्कार र तीव्र झड्काको आवश्यकता रहेको पनि बताउनुभयो।

स्रष्टा ओझाले संस्कृतको चतुष्पदीबाटै मुक्तक विकसित भएको तथा फारसीमा चतुष्पदीकै स्वरूपमा रुबाई लेखिएको उल्लेख गर्दै आफूले चतुष्पदी र रुबाईको सम्मान गर्दै शास्त्रीय छन्द बहरमा मुक्तक रचना गरेर एल्बम ल्याएको बताउनुभयो।

साहित्यकार डा. भोजराज घिमिरेले मुक्तक लेखनको शास्त्रीय परम्परालाई गजल लेखनको शास्त्रीय परम्परालाईझैँ निरन्तरता दिएकामा खुसी व्यक्त गर्नुभयो। कार्यक्रममा ६ वटै मुक्तक सन्तोष श्रेष्ठले प्रत्यक्ष गाउनु भएकाे थियाे। प्रत्यक्ष गायनमा बाँसुरीमा धनबहादुर गुरुङ र तबलामा शम्भु श्रेष्ठले साथ रहेको छ।

दियालो साहित्य सरगमको आयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण साहित्यकार गणेशप्रसाद खतिवडाले गर्नुभएको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.