साहित्य

सागर गैरेको ‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ लोकार्पण

काठमाडौँ। साहित्य, यात्रा र संस्कृतिको अन्तर्सम्बन्धलाई उजागर गर्ने नियात्रा कृति ‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ लोकार्पण गरिएको छ।

कार्यक्रममा पुस्तकका लेखक सागर गैरेले आफूले विभिन्न देशको भ्रमणका क्रममा देखेका समाज, संस्कृति, इतिहास, प्रकृति र मानवीय अनुभूतिहरूलाई नियात्राको स्वरूपमा पुस्तकमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले यात्रा भनेको भौगोलिक दूरीलाई पार गर्नु मात्र नभएर आत्मअन्वेषण, संस्कृतिको अध्ययन र विश्वलाई बुझ्ने माध्यम भएको उल्लेख गर्नुभयो ।

कोहलपुरमा बसेर लामो समयदेखि साहित्य साधनामा सक्रिय गैरेको यो कृतिमा मलेसिया, भियतनाम, भारतको गोवा, फिलिपिन्स र जर्जिया भ्रमणका अनुभवहरू समेटिएका छन्। पुस्तकमा प्रशान्त महासागरका किनारादेखि युरोप–एसियाको सङ्गम क्षेत्र मानिने काला सागर आसपासका भूभागसम्मको यात्रालाई लेखकले संवेदनशील र कलात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ ।

नियात्राकार युवराज नयाँघरेले पुस्तकले नेपाली नियात्रा साहित्यमा नयाँ ऊर्जा थपेको बताउनुभयो । उहाँले पुस्तक पढ्दा लेखकको दृष्टि पर्यटकको भन्दा फरक रहेको उल्लेख गर्दै यात्राको क्रममा भेटिएका दृश्यलाई सामाजिक र सांस्कृतिक चेतनासँग जोडेर व्याख्या गरिएको बताउनुभयो । नयाँघरेले नियात्राको मूल शक्ति लेखकको अवलोकन क्षमता र संवेदनशीलता हो, जुन पुस्तकभरि प्रस्ट देखिने उल्लेख गर्नुभयो ।

लेखक प्रतीक ढकालले पुस्तकलाई विश्वलाई नेपाली दृष्टिकोणबाट बुझ्ने प्रयासका रूपमा व्याख्या गर्नुभयो । उहाँले लेखक गैरेले विदेशी भूगोल र समाजको वर्णन गर्दा आफ्नै देश, समाज र संस्कृतिसँग तुलना गर्ने शैली अपनाएको बताउनुभयो ।

साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ ले पुस्तकलाई विभिन्न देशका भूगोलभित्र मानव सभ्यताको विकासक्रम खोज्ने कृतिका रूपमा चित्रण गर्नुभयो । उहाँले भ्रमण गरेका स्थानहरूलाई केवल मनोरञ्जनको विषय नबनाई त्यहाँको इतिहास, राजनीतिक परिवेश, सांस्कृतिक विविधता र सामाजिक संरचनासमेत समेटेको बताउनुभयो । 

नियात्राकार जय छाङ्छाले पुस्तकको भाषाशैली, प्रस्तुतीकरण र दृश्यात्मक वर्णनको विशेष रूपमा प्रशंसा गर्नुभयो । नियात्राकार भवानी खतिवडाले पुस्तकले विश्व नागरिकताको चेतना विस्तार गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सीमित भूगोलमा केन्द्रित सोचलाई फराकिलो बनाउँदै विभिन्न संस्कृति, भाषा र जीवनपद्धतिप्रति सम्मान जगाउने क्षमता पुस्तकमा रहेको बताउनुभयो । 

पुस्तकमा समेटिएका पाँच देशका अनुभवले पाठकलाई फरक–फरक सभ्यता र जीवनशैलीसँग परिचित गराउँछन्। मलेसियासम्बन्धी अध्यायमा बहुसांस्कृतिक समाज, आधुनिक सहरी विकास र दक्षिणपूर्वी एसियाली जीवनशैलीको चित्रण गरिएको छ। भियतनामको सन्दर्भमा युद्धको इतिहास, राष्ट्रिय आत्मसम्मान र तीव्र विकास यात्रालाई नियात्रात्मक शैलीमा प्रस्तुत गरिएको छ।

त्यसैगरी भारतको गोवामा समुद्री संस्कृति, पर्यटन उद्योग, उपनिवेशकालीन इतिहास र बहुसांस्कृतिक जीवनका विविध आयामहरू समेटिएका छन्। फिलिपिन्सका टापु, समुद्री जीवन, स्थानीय समुदाय र प्रकृतिको अनुपम सौन्दर्यलाई पुस्तकमा विशेष स्थान दिइएको छ। यस्तै जर्जिया भ्रमणका क्रममा लेखकले युरोप र एसियाको सङ्गमस्थल मानिने उक्त देशको इतिहास, संस्कृति, धार्मिक सम्पदा, काला सागर क्षेत्रको भूगोल तथा स्थानीय जनजीवनलाई रोचक शैलीमा प्रस्तुत गरेका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.