शेखर कोइरालाद्वारा जेन्जी पुस्ताको आवाज सुन्न आग्रह गर्दै मार्ग प्रशस्त गर्न देउवा र प्रधानमन्त्रीलाई अपिल
काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेसका मन्त्रीहरुलाई सामुहिक राजिनामा दिन आग्रह गर्दै केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
डा. शेखर कोइरालाले आज विज्ञप्तिमार्फत पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई समेत राजीनामा दिएर ‘नवीन राष्ट्रीय सहमति’का लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
“जेन्जी पुस्ताको आवाज सुनियोस, सरकार सही ढङ्गले चलेन, सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटक पटक आग्रह गरे । तर न सरकार सच्चियो न प्रधानमन्त्री र सभापतिको शैली । अन्ततः प्रधानमन्त्री र हाम्रै नेताहरुको व्यवहारका कारण नागरिक पङ्क्तिमा असन्तुष्टि थप बढ्दै गयो । सामाजिक सञ्जाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका ‘जेनजी पुस्ता’ माथिको दमन निन्दनीय छ ।” विज्ञप्तिमा भनिएको छ ।
कोइरालाले सरकार गठनका क्रममा गरिएको सात बुँदे समझदारीको औचित्य समाप्त भएको उल्लेख गर्दै पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै अविलम्ब निर्णय गर्नुपर्ने र मेरा साथीहरु सरकार बाट राजिनामा दिएर बाहिरिएको बताएका छन् ।
‘जेनजी पुस्ता’को न्यायोचित माग पूरा गर्न जोड गरिरहेको अवगत गराउँदै आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन सबल भुमिकाका लागि समेत कोइरालाले अपील गरेका छन्। सबै राजनीतिक दललाई बिद्यमान स्थितिमा खुला संवादमार्फत संयमतापूर्वक समाधानको पहलमा ऐक्यवद्धताका लागि समेत कोइरालाले अपील गरेका छन् ।