बैतडीको रातापानीमा पहिरोको वितण्डा: घर छाडेर अर्काको आश्रयमा
'अन्न फल्ने १३ रोपनी खेत आँखै अगाडि बग्यो': रातापानीका पहिरोपीडितको कारुणिक कथा
कृष्ण बिष्ट, बैतडी। बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीका गम्भीर सिंह बोहराको बास विगत १० दिनदेखि घरबाहिर छ।
घरछेवैबाट निरन्तर पहिरो झरिरहेपछि उहाँले घरभित्र सुत्न पाउनुभएकाे छैन। तर, घर गुम्ने डरभन्दा ठूलो पीडा उहाँलाई वर्षौंदेखि गरिखाने खेत गुमाएकोमा छ।
गम्भीर सिंहको अन्न फल्ने एक मात्रै १३ रोपनी खेत पहिरोले पुरै बगाएको छ। त्यही खेतमा वर्षमा तीन खेती हुन्थ्यो। “घर नजिकै लहरै रहेको १३ रोपनी जमिनमा करिब पाँच क्विन्टल मकै फल्थ्यो। यही नै मेरो आम्दानीको मुख्य आधार थियो, तर पहिरोले सबै लग्यो। म बेरोजगार छु, अब परिवार कसरी पाल्ने?” उहाँले भन्नुभयाे।
घरछेवैबाट पहिरो झर्ने क्रम नरोकिएपछि गम्भीर सिंह अहिले छिमेकीको घरमा आश्रय लिएर बस्नुभएकाे छ। पाँच छोराछोरीसहित सात जनाको परिवार पाल्ने आधार नै गुमेपछि उहाँकी श्रीमती पार्वतीको पनि चिन्ता बढेको छ। “परिवार पाल्ने यही खेत थियो, त्यो पनि पहिरोले लगिसक्यो। अब त घरसमेत जाने अवस्था छ,” उहँले निराश हुँदै भन्नुभयाे।
गत साउन २६ गतेदेखि रातापानीमा निरन्तर पहिरो गइरहेको छ। पहिरोले करिब २५ रोपनीमा लगाइएको मकैबालीसहितको खेतमा क्षति पुर्याएको छ। पहिरोका कारण रातापानीका सात परिवार पूर्ण रूपमा विस्थापित भइसकेका छन्।

स्थानीय रामसिंह बोहराका अनुसार पानी परेको समयमा जोखिममा रहेका परिवार घर छोडेर सुरक्षित स्थानतर्फ जानुपर्ने बाध्यता छ। “यहाँका सात घरको छेवैबाट पहिरो गएको छ। पानी परेपछि सबैले घर छोडेर अर्काको शरण पर्नुपर्छ। १० दिनदेखि यही अवस्था छ,” उहाँले भन्नुभयाे।
पहिरोले ठूलो आकार लिँदै गएकाले थप घरहरू पनि जोखिममा रहेको स्थानीय कृष्ण बोहराले बताउनुभयाे। “वि.स. २०७८ देखि निरन्तर पहिरो झर्ने गरेको थियो, तर यस वर्ष विकराल रूप लिएर फैलियो। अरू घरहरू पनि जोखिममा परेका छन् भने स्थानीय खमेल खोलासमेत थुनिने अवस्थामा पुगेको छ,” बोहराले भन्नुभयाे।
रातापानीमा पहिरोको समस्या यस वर्षबाट मात्र सुरु भएको भने होइन। २०७८ सालदेखि वर्षैपिच्छे पहिरो जाने गरेको स्थानीय बताउँछन्। तर यस वर्ष पहिरोले सबैभन्दा ठूलो क्षति पुर्याएको छ। सात परिवार विस्थापित भइसकेका छन् भने थप १९ घर उच्च जोखिममा रहेका स्थानीय तेजबहादुर बोहराले जानकारी दिनुभयाे। “माथिल्लो क्षेत्रमा ठूलो क्षति भएको छ। तल्लो भेगमा पनि जोखिम बढ्दै गएको छ। पहिरोका कारण नदी थुनिने खतरासमेत छ,” उहाँले भन्नुभयाे।
रातापानी पहिरो प्रभावित क्षेत्रमा सरोकारवाला निकायसहित अनुगमनमा प्रमुख जिल्ला अधिकारी मिना अर्याल
वर्षौंदेखि पहिरोका कारण घर र खेत बग्दै आएपछि स्थानीयले सिंगो बस्ती नै सुरक्षित स्थानमा सार्न माग गर्दै आएका छन्। स्थानीय लालबहादुर बोहराका अनुसार पहिरो नियन्त्रण हुने सम्भावना कम देखिएकाले दीर्घकालीन समाधानका रूपमा बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन। “यो क्षेत्रको पहिरो नियन्त्रण हुने सम्भावना देखिँदैन। पहिरोको आकार वर्षेनी बढ्दै गएको छ। त्यसैले बस्तीलाई नै सुरक्षित स्थानमा सार्नुपर्छ,” उहाँले भन्नुभयाे।

बस्ती नै जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी मिना अर्यालको नेतृत्वमा सरोकारवाला निकायले रातापानी क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमनपछि जोखिममा रहेका सात परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयाे। “घरखेत बगिरहेको अवस्थामा मानिसलाई सुरक्षित स्थानमा सार्नु हाम्रो पहिलो दायित्व हो। तथ्यांक संकलन गरिसकेका छौँ, सात परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्छौँ र त्यसपछि अन्य दीर्घकालीन विषयमा छलफल गर्छौँ,” उहाँले भन्नुभयाे।
यता सुर्नया गाउँपालिकाले पनि थप जोखिम हुन नदिन आवश्यक पूर्वतयारी थालेको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जोखिममा रहेका बस्तीको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको बताउनुभयाे।