एक्सक्लुसीभ

काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा कर्फ्यु आदेश, सडक सुनसान

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूले आज बिहानदेखि अलग–अलग सूचना जारी गर्दै कर्फ्यु आदेश लागू गरेका छन् ।

जेन्जी पुस्ताको आन्दोलन रोकिएनपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौं उपत्यकामा निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरिएको हो । आदेशअनुसार तोकिएका क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक, धर्ना, हुलदंगा, आतिशबाजी तथा भीडभाड गर्न पाइने छैन ।

काठमाडौंका सडक सुनसान

कर्फ्यु आदेशसँगै काठमाडौंका भित्री शहरका सडक सुनसान बनेका छन् । सडकमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको देखिन्छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरेको आदेशअनुसार आज बिहान ५ः३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको हो ।

कर्फ्यु लागू हुने क्षेत्र (काठमाडौं)

भद्रकाली–पुल्चोक–कोटेश्वर–सिनामंगल–गौशाला–चाबहिल–नारायणगोपाल चोक–गोंगबु–बालाजु–स्वयम्भू–कलंकी–त्रिपुरेश्वर हुँदै बागमती नदी र पुरानो बसपार्कसम्मको चक्रपथभित्रको सम्पूर्ण भू–भागमा कर्फ्यु लागु हुनेछ ।

ललितपुरमा कर्फ्यु

ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि ललितपुर महानगरपालिकाका केही क्षेत्रमा बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले हस्ताक्षर गरी जारी गरिएको आदेशअनुसार वडा नं २, ४, ९, १८ र २५ का भैँसेपाटी, सानेपा र च्यासल क्षेत्रलाई चारकिल्ला तोकी कर्फ्यु आदेश लागू गरिएको हो ।

भक्तपुरमा कर्फ्यु

भक्तपुर जिल्लामा पनि बिहान ५ः३० बजेदेखि विशेष कर्फ्यु आदेश लागू भएको छ । प्रमुख जिल्ला अधिकारी जसपाल कुमार देवकोटाले हस्ताक्षर गरेको आदेशअनुसार मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाभित्रका विभिन्न क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ ।

कर्फ्यु लागू हुने क्षेत्र (भक्तपुर)

जगद्गुरु निङ्मापाल राजमार्गको पूर्वी २०० मिटर
पेप्सीकोला मनोहरा पुलदेखि निकोसरा चोकसम्म
नागदेशको बालकुमारीबाट रोहितश्वोर चोकसम्म
व्यासबजार हुँदै चारदोबाटो चोकसम्म
सल्हाघारी–कमलविनायक–खरिपाटी हुँदै नगरकोटसम्म
ग्वार्को–कोटेश्वर हुँदै बालकुमारी
युवाक्लब मोडदेखि नेपाल इन्जिनियरिङ कलेज
कौशलटारदेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म
छूट दिइने सवारीसाधन

कर्फ्यु अवधिमा अत्यावश्यक सेवामा संलग्न एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारीसाधन, मानव अधिकार तथा कूटनीतिक निकायका सवारीसाधनलाई आवतजावत गर्न अनुमति दिइने प्रशासनले जनाएको छ । साथै, हवाई टिकटको आधारमा यात्रुहरूको आवतजावतमा पनि सुरक्षाकर्मीले सहजीकरण गर्नेछन् ।

जिल्ला प्रशासन कार्यालयहरूले सर्वसाधारणलाई शान्ति सुरक्षाका लागि आदेश पालना गर्न आग्रह गरेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.