नेपाल

भारतका नवनियुक्त राजदूत दलेला काठमाडौँमा

काठमाडौँ । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला यहाँ आइपुग्नुभएको छ । उहाँ आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आउनुभएको हो । 

राजदूत दलेलालाई नेपालस्थित भारतीय दूतावासका अधिकारीहरू तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो । उहाँ सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गर्नुभएको हो । राजदूत दलेलाले आफ्नो कूटनीतिक सेवा इजरायलको तेल अभिभबाट सुरु गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । त्यसयता उहाँले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डिसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हाल्नुभएको छ ।

पछिल्लो पटक दलेलाले सन् २०२२ देखि सन् २०२५ सम्म भुटानका लागि भारतको राजदूतका रूपमा कार्य गर्नुभएको थियो । राजदूत दलेलाले नयाँ दिल्लीमा पनि महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्नुभएको थियो । उहाँले सन् २००९ देखि सन् २०११ सम्म प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा कार्य गर्दै भारतका दक्षिण एसियाली छिमेकी मुलुकहरू, पूर्वी एसिया तथा हिन्द प्रशान्त क्षेत्र, खाडी मुलुक, मध्यपूर्व र अफ्रिकी देशहरूसँगको सम्बन्ध तथा सहकार्यसम्बन्धी विषय हेर्नुभएको थियो ।

राजदूत दलेलाले संयुक्त राज्य अमेरिकामा पनि विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको छ । नेपालका लागि भारतको राजदूत नियुक्त हुनुअघि उहाँले भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारी सम्हाल्नुभएको थियो । उक्त जिम्मेवारीमा उहाँले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँगको विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्नुभएको थियो ।

यस अघिका भारतीय राजदूत नविन श्रीवास्तव आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किसक्नुभएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्