साहित्य समाचार

‘धरहराको बकपत्र’ विमोचन

नेपालगन्ज। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा बद्रीविक्रम पूर्णिमा साहित्य पुरस्कारबाट चार जना स्रष्टालाई सम्मान गरिएको छ । सोही अवसरमा संस्थाका अध्यक्ष डा. पुष्कर रिजालको कविता सङ्ग्रह धरहराको बकपत्र पनि विमोचन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा. गोपालप्रसाद अधिकारी र संस्थाका अध्यक्ष रिजालले दोसल्ला, माला सम्मान पत्र र नगद पुरस्कारबाट स्रष्टाहरूको सम्मान गर्नुभयो । २०८२ सालको वद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार नेपालगन्जका उर्दू साहित्यकार मुस्तफा अहसन कुरैशीलाई र २०८३ को सोही पुरस्कार प्युठानमा जन्मिएका बालसाहित्यकार, बाल साहित्य समाजका केन्द्रीय अध्यक्ष विजयराज आचार्यलाई प्रदान गरियो ।

यसैगरी, वद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८२ कैलालीका कवि तथा सञ्चारकर्मी पुष्पराज जोशीलाई र २०८३ को सोही पुरस्कार बर्दियाकी कवि निरन्जना चन्द निरूलाई अर्पण गरियो । पुरस्कारको राशी जनही बीस हजार रुपियाँ रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष डा. पुष्कर रिजालले बताउनुभयो ।

कर्मयोगी बद्रीविक्रम थापाको सम्मानमा उहाँका सुपुत्र किरण थापाले पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले अर्पण गर्नेगरि सो पुरस्कार स्थापना गर्नुभएको थियो । सोही अवसरमा संस्थाका अध्यक्ष डा. रिजालको कविता सङ्ग्रह धरहराको बकपत्र को विमोचन प्रमुख अतिथीका प्रा.डा. अधिकारीका साथमा साहित्यकार नरेन्द्रजङ्ग पिटर, वागेश्वर बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, प्रगतिशील लेखक सङ्घका सचिव डा. हरि तिमिल्सिना, कवि डा. रिजाल र उहाँकी धर्मपत्नी कमला अधिकारी लगायतले संयुक्तरूपमा गर्नुभयो ।

कृतिमाथि समीक्षा गर्दै पूर्व जिल्ला शिक्षा अधिकारी साहित्यचिन्तक निलकण्ठ रेग्मीले मातृवन्दनाबाट सुरु गरी जन्मभूमिप्रतिको श्रद्धामा टुङ्गिएको बताउनुभयो । रेग्मीले पूर्वीय कविता सिद्धान्तका कसीमा डा. रिजालका कृतिभित्रका ८८ वटा कविता उत्तम काव्यको कोटिमा पर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा समीक्षक डा. हरिप्रसाद तिमिल्सिना र डा. खोपीराम वली, साहित्यकार नरेन्द्रजङ पिटर, महानन्द ढकाल, सागर गैरे, ईश्वरीप्रसाद रिजाल तथा सम्मानित स्रष्टा मुस्तफा अहसन कुरैशी, पुष्पराज जोशी, निरन्जना चन्द लगायतले शुभकामना मन्तव्य दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्