एक्सक्लुसीभ

पहिरोले नदी थुनिएर बूढीगण्डकीमा बाढी आएको हुन सक्ने इसिमोडको प्रारम्भिक निष्कर्ष

गोरखा । उत्तरी गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको विनाशकारी बाढी पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा आएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ । 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, इसिमोडले चुम्चेतनजिक पहिरो खसेर नदीको बहाव रोकिएको र जम्मा भएको पानी एक्कासि बाहिरिँदा ठूलो बाढी आएको हुन सक्ने जनाएको हो ।

इसिमोडका अनुसार बाढी आइतबार बिहान नेपाली समयअनुसार करिब ४ः०० बजे सुरु भएको अनुमान छ । बाढीले नदीमा थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बगाउँदै तल्लो तटीय क्षेत्रका बस्तीमा ठूलो प्रभाव पारेको थियो ।

नदीको बहावमा उतारचढाव आएपछि आसपासका क्षेत्रमा जोखिम बढेको थियो ।  त्यसपछि सम्बन्धित निकायले बूढीगण्डकी, त्रिशूली र नारायणी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेका थिए ।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता चियाङगङ झाङले प्रारम्भिक विश्लेषणमा पहिरोका कारण बनेको अस्थायी अवरोध फुट्दा गेग्रानसहितको ठूलो बाढी आएको हुन सक्ने देखिएको बताउनुभएको छ ।

रसुवा–केरुङ क्षेत्रमा विपत्ति आएको केही समयपछि नै हिमाली क्षेत्रमा अर्को ठूलो बाढी आउनुले पहाडी तथा हिमाली भूभागमा प्राकृतिक विपद्को जोखिम पुनः उजागर गरेको इसिमोडले जनाएको छ ।

बूढीगण्डकी नदीमा यसअघि पनि ठूलो बाढी आएको थियो । सन् २०२४ को अप्रिलमा मनास्लु हिमनदीको अग्रभागबाट ठूलो हिमपहिरो खसेपछि वीरेन्द्र तालमा पानीको बहाव अचानक बढेको थियो । त्यसपछि तालको पानी बाहिरिएर बूढीगण्डकी नदीमा बाढी आएको थियो ।

इसिमोडको नेतृत्वमा गरिएको विस्तृत अध्ययनले उक्त घटनालाई हिमताल विस्फोटजन्य बाढी नभई हिमपहिरोका कारण तालको पानी विस्थापित भएर बाहिरिएको घटनाका रूपमा व्याख्या गरेको थियो ।

पछिल्लो बाढीको वास्तविक कारण भने विस्तृत अध्ययनपछि मात्र पुष्टि हुने जनाइएको छ  ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्