साहित्य समाचार

पत्रकार यज्ञराज जोशीको कथा संग्रह ‘बैसाखी’ लोकार्पित

काठमाडौं । युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी कथा संग्रह लोकार्पण भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबिच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी, समालोचक एवं बैसाखीका सम्पादक सुभाषचन्द्र भण्डारीले पुस्तकको लोकार्पण गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा अवस्थीले लेखक जोशीमा सिर्जनात्मक प्रतिभा रहेको बताउनुभयो । पत्रकारिताबाट आएका लेखकहरूका शब्दमा शक्ति हुन्छ। जोशीमा पनि सिर्जनात्मक प्रतिभा छ । उहाँमा इच्छा शक्ति छ । लोकपरिवेशमूलक निपूर्णता छ । लेखनमा आलंकारिक्ता छ, उहाँले भन्नुभयो ।

कथाका शैली काव्यात्मक रहेकोले यस्तो अवस्थामा कथानकमा क्षति पुग्ने र लेखक बहकिन सक्ने भएकोले त्यसतर्फ सचेत रहन उहाँले सुझाव दिनुभयो । यस्तै समीक्षक ज्ञानु अधिकारीले पुस्तकमाथि परिचर्चा गर्दै बैसाखीमा भुइँमान्छेको इतिहास संग्रहित कथा रहेको ‌औल्याउनुभयो । उहाँले नारीवादी मनोविज्ञानलाई पनि लेखकले सशक्त रूपमा प्रस्तुत गरेको बताउनुभयो।

कथाका पात्रलेजस्तै समाजका सबै पुरुषले महिलालाई सम्मान गर्ने भए यो संसार कति सुन्दर हुन्थ्यो भन्ने मनोभाव कथा पढ्दै गर्दा आफूमा पैदा भएको उहाँले बताउनुभयो ।

बैसाखीमाथि परिचर्चा गर्दै पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले नयाँ पुस्ताको मनोभावलाई गहिरोसँग लेख्न सफल भएकोमा कृतिकार जोशीलाई बधाई दिनुभयो । जोशीको लेखनीमा आधुनिक कथाशिल्प छ। पछिल्लो पुस्ताको मनोभाव गहिरोगरी आएको छ । बालशखादेखि गाउँपरिवेशका सबै कथा मिहिन रूपमा उहाँ लेख्न सफल हुनुभएको छ, भण्डारीले भन्नुभयो ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. टीएन जोशीले आफूले लेखक जोशीलाई २० वर्षदेखि चिनेको र उहाँ साहित्यिक गतिविधिमा सक्रिय रहेको देखिरहेको स्मरण गर्नुभयो । सुदूरभूमिबाट दुःख, संघर्ष गर्दै अगाडि बढेको र भुइँमान्छेकै रूपमा भुइँमान्छेका कथा लेखेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

यस्तै प्राध्यापक माधव नेपालले बैसाखी लेखनीका क्रममा आफूले थुप्रै सुझाव दिएको र ती सुझावलाई पालना गर्दै जोशीले कृतिका रूपमा बैसाखी ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । ुउहाँ प्रतीक्षा गर्न सक्ने व्यक्ति हो। ७ वर्ष लगाएर बैसाखी बजारमा ल्याउनुभयो । मिहिनेत गर्ने हुटहुटी र प्रतीक्षा गर्न सक्ने जोशीको बानीबाट म प्रभावित छु, उहाँले भन्नुभयो ।

यस्तै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महरले दशकदेखि जोशीलाई निकट रूपमा चिनेको र उहाँको मिहिनेतको बैसाखी पढ्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले लेखक जोशी शब्दसँग रम्न सक्ने स्वाभावका भएकोले साहित्यिक कर्मलाई नै निरन्तरता दिन सदीक्षासमेत प्रकट गर्नुभयो ।

नेपाली जनसम्पर्क समित अमेरिकाका पूर्व सभापति एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द बिष्टले लेखकको व्यक्तिगत जीवन कष्टकर हुने भए पनि यसरी बैद्धिक सम्पत्ति बाहिर ल्याउँदा प्राप्त हुने सन्तुष्टिको कुनै मूल्य नहुने बताउनुभयो । उहाँले लेखक जोशीको मिलनसार र मिजासिलो गुण आफूलाई सबैभन्दा बढी मन पर्ने बताउनुभयो ।

कृतिकार जोशीले आफूले बैसाखीमार्फत नै सबै कुरा बताइसकेकाले अब पाठकका सुझावलाई नै अमूल्य निधि मानेर अगाडि बढ्ने बताउनुभयो । आमाले दुई दशकअघि भारतमा रहेका पितालाई चिट्ठी लेख्न भन्नुहुन्थ्यो । चिट्ठीको अन्तिममा देउडा लेख्नुहुन्थ्यो । म त्यसैबाट प्रेरित भएर साहित्यिक क्षेत्रमा आकर्षित भएको हुँ । र, आजको दिनसम्म आइपुग्दा त्यही प्रेरणाले बैसाखीको रूप लिएको छ, उहाँको भनाइ छ ।

शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पैडेलले ऊर्जावान युवा लेखक जोशीको कृति बजारमा ल्याउन पाउँदा खुसी लागेको बताउनुभयो । लोकार्पणअगावै बजारमा पुस्तकको माग बढिसकेको उहाँको भनाइ छ । बैसाखी लोकार्पणको सहजीकरण पत्रकार दीपक जोशीले गर्नुभएको थियो । बैसाखीको बजारमूल्य ५९५ रुपियाँ रहेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्