आप्रवासनसम्बन्धी कागजातको अनुसन्धानका क्रममा प्रतिनिधि सभा सदस्य इल्हान ओमरको घरमा डिएचएसले छापा मार्यो
वाशिंगटन । सोमबार बिहान संघीय अधिकारीहरूले मिनेसोटाकी डेमोक्र्याट सांसद इल्हान ओमरको वासिङ्टन डिसीस्थित घरमा छापा मारेका छन्। यो कारबाही उनका बुबाले भरेका आप्रवासनसम्बन्धी कागजातहरूमा भएको भनिएको आपराधिक ठगीको अनुसन्धानको एक हिस्सा हो।
प्रतिनिधि सभा सदस्य इल्हान ओमरको घरमा होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनले छापा मरेको पुष्टि भएको छ।
सोमालियामा जन्मिएकी र बाल्यकालमै अमेरिका ल्याइएकी ओमर राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचनाको निसानामा पर्दै आएकी छिन्। उनी सन् २००० मा १७ वर्षको उमेरमा अमेरिकी नागरिक बनेकी थिइन्।
‘होमल्यान्ड सेक्युरिटी’ विभाग अन्तर्गतको ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन’ शाखाले उक्त छापा मारेको हो।
छापामारीबारे अमेरिकी न्याय विभागले जारि गरेको विज्ञप्तिमा भनिएको छ, “आज वासिङ्टन डिसी क्षेत्रमा, ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन’ले न्याय विभागद्वारा प्राप्त अदालती अनुमतिसहितको खानतलासी वारेन्ट कार्यान्वयन गरेको छ।”
“यो कारबाही चलिरहेको संघीय अनुसन्धानको एक हिस्सा हो,” विज्ञप्तिमा उल्लेख छ।
नोभेम्बरमा हुने मध्यावधि निर्वाचनभन्दा एक महिनाभन्दा कम समय बाँकी रहँदा यो छापामारी भएको हो। ४४ वर्षीया ओमर मिनेसोटाको पाँचौं निर्वाचन क्षेत्रबाट प्रतिनिधिका रूपमा अर्को कार्यकालका लागि उम्मेदवारी दिने तयारीमा छिन्।