साहित्य

राष्ट्रकवि ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाममा स्थापित यस वर्षको ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई प्रदान गरिने भएको छ ।

नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञान विज्ञानको उन्नयनका लागि विसं २०५३ मा स्थापना गरिएको मस्र्याङ्दी वाङ्गमय प्रतिष्ठानले उक्त पुरस्कार वरिष्ठ गीतकार रिजाललाई प्रदान गर्न लागेको हो ।

उक्त पुरस्कारको राशि रु एक लाख र ताम्रपत्र रहेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, सुपुत्र द्वय स्वर्गीय इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी रु २७ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषबाट आउने वार्षिक ब्याजबाट हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ ।

नेपाली साहित्य र सङ्गीत क्षेत्रमा एक विशिष्ट व्यक्तित्वका रूपमा परिचित रिजालले नारायण गोपालले गाएको चर्चित गीत ‘केही मिठो बात गर……..’ जस्ता प्रख्यात गीत सिर्जना गर्नुभएको छ ।

नेपाली साहित्यमा पुर्याएको योगदानका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानबाट विभिन्न वर्षमा कवि रिजालले उत्कृष्ट सर्जकको पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले पहलमानसिंह स्वाँर स्मृति पुरस्कार तथा वानीरा प्रज्ञा पुरस्कार पनि प्राप्त गर्नुभएको छ । उक्त पुरस्कार राष्ट्रकवि घिमिरेको जन्मजयन्तीको अवसर यही असोज ७ गते प्रदान गरिने प्रतिष्ठानका सचिव अन्जना पौडेलले जानकारी दिनुभयो । अक्षयकोष स्थापना गरेसँगै पुरस्कार छनोटका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति बनाएको थियो ।

प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार विजयराज न्यौपानेको संयोजकत्वमा गठित समितिको सदस्यमा विज्ञका तर्फबाट प्रा.डा. सनतकुमार वस्ती र दाताका तर्फबाट डा हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्