राजनीति

१३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस

काठमाडौँ । सरकारले विभिन्न १३ राष्ट्रमा नेपाली राजदूतको नियुक्तिका लागि नाम सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले भारत, चीन, अमेरिका लगायतका राष्ट्रमा नेपाली राजदूत नियुक्तिका लागि नाम सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

मन्त्री पोखरेलका अनुसार सरकारले डा. निश्चलनाथ पाण्डेलाई भारत, डा. कल्याणराज शर्मालाई चीन, चिरनजङ्ग थापालाई संयुक्त राज्य अमेरिका तथा गौरवशम्शेर ज.ब.रा. लाई संयुक्त अधिराज्य (बेलायत)को राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

यस्तै सरकारले सरू जोशीलाई जर्मनी, सुरेशकुमार कर्णलाई इजरायल, प्राप्ति शेरचनलाई स्पेन, जिज्ञानकुमार थापालाई जापान, डा. पदमाक्षी राणालाई ओमान, चूडामणि खरेललाई मलेसिया, प्राध्यापक डा. सङ्गम श्रेष्ठलाई  कोरिया, डा. मञ्चला झालाई श्रीलङ्का तथा गिरीबहादुर सुनारलाई साउदी अरेबियाको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्बाट सिफारिस भएका नामहरू संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राजदूत पदमा नियुक्ति हुने कानूनी व्यवस्था रहेको छ ।

यस्तै आजको मन्त्रिपरिषद् बैठकले नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने तथा कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली २०८३ संशोधन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने, सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्