नेपाल

बाढी–पहिरोले कर्णाली करिडोरको हुम्ला सडक खण्ड अवरुद्ध

हुम्ला । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । 

सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै आसपासका बालीनालीमा समेत क्षति पुगेको छ ।

सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीका अनुसार थाहा खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बालीनाली नष्ट गरेको छ ।

त्यसैगरी, सर्केगाड गाउँपालिकाको केन्द्र आसपास भएर बग्ने सर्केगाड खोलामा पानीको बहाव बढ्दा बजार क्षेत्र तथा आसपासमा समेत क्षति पुगेको छ । सर्केगाड बजारमा व्यवसाय गर्दै आएका अदानचुली गाउँपालिका–१ का लक्ष्मण फडेराका अनुसार खोलामा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा समस्या देखिएको छ ।

यता, लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ ।

कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरिएको छ भने केही खण्डमा सडक साँघुरिएपछि जोखिम मोलेर सवारी साधन सञ्चालन भइरहेका छन् । पहिरोका कारण दक्षिणी हुम्लाबाट सदरमुकाम सिमिकोटतर्फ आउने–जाने यात्रुहरू बढी प्रभावित भएका छन् ।

कर्णाली करिडोर हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख स्थल मार्ग हो । वर्षायाममा पहिरोका कारण करिडोर पटक–पटक अवरुद्ध हुँदा यातायातसँगै जिल्लाको खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुँदै आएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्