डिसी महानगर क्षेत्रका नुवाकोटवासीहरूको तेस्रो वार्षिक बनभोज सम्पन्न
भर्जिनिया । अमेरिकाको डिसी, मेरिल्याण्ड र भर्जिनियामा बसोबास गर्ने नुवाकोटवासीहरूको तेस्रो वार्षिक बनभोज उत्साहपूर्वक सम्पन्न भएको छ।
विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस पिकनिकमा डीएमभी क्षेत्रमा बसोबास गर्ने नुवाकोटवासी परिवारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आपसी भेटघाट, परिचय आदानप्रदान, मनोरञ्जनात्मक खेलकुद तथा सामूहिक भोजनमार्फत समुदायबीचको आत्मीयता, एकता र सद्भावलाई थप मजबुत बनाइएको थियो।
विदेशी भूमिमा रहेर पनि आफ्नो जन्मभूमि नुवाकोटसँगको सम्बन्धलाई निरन्तरता दिने तथा नुवाकोटवासीबीच आपसी सहयोग र भाइचारा बढाउने उद्देश्यले आयोजना हुँदै आएको यस कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै अझ व्यापक र भव्य रूपमा आयोजना गर्ने आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण नुवाकोटवासी, सहभागी, स्वयंसेवक तथा सहयोगीहरूप्रति आयोजक समितिले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।