एनआरएनए पोर्चुगलको लिस्बोनमा कार्यालय स्थापना
लिस्बोन । पोर्चुगलमा रहेका नेपाली समुदायलाई आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श सहज रूपमा उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ।
पोर्चुगलमा नेपाली समुदायको संख्या तीव्र रूपमा बढिरहेको अवस्थामा समुदायका समस्या, जिज्ञासा तथा आवश्यकतामा प्रत्यक्ष रूपमा सहजीकरण गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको एनआरएनए पोर्चुगलले जनाएको छ। कार्यालयबाट कागजी प्रक्रिया, संस्थागत समन्वय, आवश्यक सूचना, परामर्श तथा विभिन्न सेवासम्बन्धी सहजीकरण उपलब्ध गराइने बताइएको छ।
एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले नेपाली समुदायको बढ्दो संख्या र आवश्यकतालाई ध्यानमा राख्दै संस्थागत रूपमा सेवा प्रवाह गर्न कार्यालयको आवश्यकता महसुस गरिएको बताए। उनले कार्यालयलाई पोर्चुगलमा रहेका नेपालीहरूको साझा सम्पर्कस्थलका रूपमा विकास गर्दै समुदायका समस्या र आवश्यकतामा प्रभावकारी सहजीकरण गर्ने उद्देश्य रहेको बताए।
यसैगरी, एनआरएनए पोर्चुगलका सचिव सुरज भण्डारीले कार्यालयसँगै संघले आधिकारिक वेबसाइटसमेत सञ्चालनमा ल्याएको जानकारी दिए। वेबसाइटमार्फत संघका गतिविधि, सूचना, कार्यक्रम तथा उपलब्ध सेवाबारे जानकारी लिनुका साथै नेपाली समुदायका जिज्ञासा तथा सेवा–सहयोगसम्बन्धी अनुरोधसमेत पठाउन सकिने व्यवस्था गरिएको उनले बताए।
सोही अवसरमा बसेको बैठकले गंगा बहादुर नेम्कुललाई गैरआवासीय नेपाली संघ (एनआरएनए), पोर्चुगलको मेलमिलाप तथा ज्येष्ठ नागरिक सम्बन्धी संयोजक पदमा मनोनयन गरेको छ।