पार्टी र सरकारका बीच कुनै विमति छैन : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली जनताले दिएको ठूलो जिम्मेवारीलाई पुरा गर्न पार्टी र सरकार एकसाथ अघि बढिरहेको प्रष्ट पार्नुभएको छ ।
सभापति लामिछानेले मन्त्रीहरू तथा पार्टीका सांसदहरुसंग आज संसद् सचिवालयमा छलफल गर्नुहुँदै सरकार र पार्टी बीच थप सुमधुर सम्बन्ध कायम गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन मन्त्री र सांसदहरुबीच छलफल भएको जानकारी दिनुभयो ।
रास्वपाका सभापति छामिछानेले प्रधानमन्त्री तथा पार्टीका बीचमा कुनै प्रकारको मतभेद नभएको र सरकार तथा पार्टीको विचार र नीति तथा कार्यक्रम विपरीतका कामहरू आफ्ना दलका सांसद र मन्त्रीहरूबाट नहोस् भन्ने उद्देश्यले आजको छलफल आयोजना गरिएको बताउनुभयो ।
उहाँले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहका बीचमा दुई धार भएको विषयमा कुनै सत्यता नभएको बताउनु भयो ।
उहाँले मन्त्रीहरूको कामकाज पूर्ण रुपमा सन्तोषजनक भएको उल्लेख गर्दै मन्त्रीहरू फेर्ने पक्षमा प्रधानमन्त्री तथा पार्टी नभएको प्रष्ट पार्नु भयो । उहाँले सानो समयमा मन्त्रीहरूले गर्नु भएको कार्यसम्पादनमा सामान्य प्रश्न उठ्नुलाई अस्वभाविक भन्न नमिल्ने बताउँदै त्यसमा सुधार गरेर बढ्न जरुरी रहेको बताउनुभयो ।
रास्वपाका अध्यक्ष छामिछानेले ठूलो पार्टी तथा धेरै सांसदहरु भएकाले कहिलेकाहीँ संसदमा उठ्न नहुने विषयहरू उठ्ने गरेकाले त्यसप्रति सजग रहन सांसदहरुसंग छलफल भएको बताउनुभयो ।
करिब साढे तीन घण्टासम्म भएको आजको छलफलमा मन्त्रीहरूले सम्बन्धित मन्त्रालयहरूले गरेको कामका बारेमा जानकारी गराउनुभएको थियो ।