एमबिसी कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा सीता तामाङलाई दोहोरो स्वर्ण
काठमाडौँ । दक्षिण कोरियामा आयोजित ११औँ एमबिसी कप अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सीता तामाङले दोहोरो स्वर्ण पदक जितेकी छन् ।
आयोजित प्रतियोगितामा कूल २१ राष्ट्रका खेलाडीको सहभागिता थियो । सीतासहित तीन खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए । सीताले महिला सिङ्गल पुम्से र पेयर पुम्सेमा प्रतिस्पर्धा गरेकी थिइन् ।
महिला सिङ्गल पुम्सेको फाइनलमा सीताले रुसकी खेलाडीलाई पछाडि पार्दै स्वर्ण पदक जितिन् । त्यस्तै, पेयर पुम्सेमा सीता र प्रेम लिम्बुको जोडीले फिलिपिन्सका खेलाडीलाई हराएपछि देशले अर्को स्वर्ण हात पार्यो ।
तीन साताअघि मात्र दक्षिण कोरियामै भएको सातौं किम उन योङ कप (जी वान) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पनि सीताले रजत पदक जितेकी थिइन् । त्यतिबेला नेपालले एक रजत र दुई कांस्यसहित कूल तीन पदक जितेको थियो ।
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा एउटै खेलाडीले दुई फरक विधामा स्वर्ण पदक जित्नु नेपाली तेक्वान्दोका लागि महत्वपूर्ण उपलब्धि हो ।