नेपाल

अग्निपथ मार्फत नेपाली युवालाई भारतीय सेनामा भर्ती खुलाउन माग 

पोखरा । भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पुनः सुरु गर्न माग गर्दै पोखरामा भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालले प्रदर्शन गरेको छ । भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत नेपाली युवालाई भर्ती हुने अवसर खुला गर्नुपर्ने तथा ‘सैनिक’ शब्द प्रयोग भएका भूतपूर्व सैनिकका संघ–संस्थाको नवीकरण रोकिएको विषय तत्काल सम्बोधन गर्नुपर्ने माग राख्दै पूर्व गोर्खा सैनिकहरू प्रदर्शनमा उत्रिनुभएको हो ।

उहाँहरूले पोखराका विभिन्न क्षेत्रबाट र्‍याली निकाल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र गृह मन्त्रालयसमक्ष ज्ञापनपत्र पठाउनुभएको हो । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले नेपाली युवालाई भारतीय सेनामा भर्ती हुने पुरानो परम्परा र अवसरलाई निरन्तरता दिनुपर्ने माग गर्नुभयो ।

उहाँले अग्निपथ योजनाअन्तर्गत नेपाली युवालाई समेत भर्तीको अवसर दिन भारत सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुभयो । भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया लामो समयदेखि रोजगारीको एउटा महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको उल्लेख गर्दै उहाँले सन् २०२२ मा भारतले अग्निपथ योजना लागू गरेपछि नेपाली युवाको भर्ती प्रक्रिया रोकिएको र त्यसले ठूलो सङ्ख्यामा युवालाई रोजगारीको अवसरबाट वञ्चित गरेको उहाँको भनाइ छ ।

पूर्वसैनिकहरूले आफ्ना माग तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ गुरुङले प्राप्त मागपत्र तत्काल प्रधानमन्त्री तथा सम्बन्धित निकायमा पठाउने व्यवस्था गर्ने बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्