गुल्मेली समाज युकेको १८औँ वार्षिक भेटघाट तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न
लन्डन। गुल्मेली समाज युकेको १८औँ वार्षिक भेटघाट तथा बृहत् सांस्कृतिक कार्यक्रम आइतबार लन्डनको फेल्थामस्थित स्प्रिङवेल्स एकेडेमीमा भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली कला, संस्कृति र परम्पराअनुसार आ–आफ्नै मौलिक भेसभुसामा उपस्थित नेपालीहरू विभिन्न गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिमा रमाइरहेका देखिन्थे।
बेलायतका विभिन्न सहरका साथै स्कटल्यान्ड, आयरल्यान्ड र वेल्सबाट समेत सयौंको सङ्ख्यामा नेपाली समुदायको सहभागिता रहेको थियो। कतिपय सहभागीले घण्टौँको यात्रा तय गरेका थिए भने केहीले सामूहिक रूपमा कोचको व्यवस्था गरी कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यक्रमको सुरुआत पशुपतिनाथ मन्दिर प्लमस्टिडका मूल पण्डित नीलहरि घिमिरे, आनन्दराज लोहनी, वासुदेव सापकोटा, पण्डित विनोद पन्थी र पण्डित थानेश्वर पाण्डेद्वारा स्वस्तिवाचन तथा विधिपूर्वक पूजापाठ गरी गरिएको थियो।
समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेल, लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी तथा समाजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक रिटायर्ड क्याप्टेन ताम ढेगाले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत दुवाडीले गुल्मी जिल्ला समाज यूकेले एउटा जिल्लाको मात्र नभई समग्र नेपाल र नेपाली समुदायको प्रतिनिधित्व गरेको बताए। नेपाली मौलिक संस्कृतिको संरक्षण, नयाँ पुस्तालाई भाषा, संस्कार र पहिचानसँग जोड्ने तथा बेलायती समाजमा नेपालको परिचय थप मजबुत बनाउन यस्ता संस्थाको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।