अविरल वर्षाका कारण मुगुको गमगढी–नाक्चेलाग्ना सडक अवरुद्ध
मुगु । लगातारको अविरल वर्षाका कारण गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत लुम्सदेखि गमगढीसम्मको सडक अवरुद्ध भएको छ।
विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकभरि हिलो र माटो जमेपछि सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको हो।
सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा, सर्वसाधारण यात्रु तथा अत्यावश्यक सामग्री ढुवानीमा गम्भीर समस्या उत्पन्न भएको छ। गमगढीबाट मुगुम कार्मारोङको छायलसम्म सवारी साधन चल्ने भए पनि त्यहाँभन्दा अगाडि र सदरमुकाम आउजाउ गर्ने यात्रुहरू जोखिमपूर्ण पैदल यात्रा गर्न बाध्य छन्। ठाउँ–ठाउँमा खसेको पहिरो र बाक्लो हिलोका कारण आवतजावत निकै सकसपूर्ण बनेको स्थानीयको भनाइ छ।
मुगुम कार्मारोङ गाउँपालिका–७ महका स्थानीय पेमा ठिल्ले लामाका अनुसार अविरल वर्षाले सडकको अवस्था अत्यन्तै दयनीय बनाएको छ। लुम्सदेखि गमगढीसम्म धेरै ठाउँमा पहिरो गएकाले आवतजावत ठप्प भएको जनाउँदै उहाँले सडक तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ।
सोही वडाका अर्का स्थानीय कार्साङ लामाले वर्षायाम सुरु हुनेबित्तिकै सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको बताउनुभयो। सडक बन्द हुँदा बिरामी, विद्यार्थी, सर्वसाधारण यात्रु तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा प्रत्यक्ष असर परेको भन्दै उहाँले सडकको दीर्घकालीन मर्मत र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
लगातार वर्षा भइरहेकाले सडक खुलाउने प्रयासमा समस्या भइरहेको छ। वर्षा नरोकिएकाले थप पहिरो खस्ने जोखिम उत्तिकै छ। स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण सडकमा यात्रा नगर्न आग्रह गरेको छ भने मौसममा सुधार आउनेबित्तिकै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइने जनाएको छ।
वर्षेनी दोहोरिने यो समस्याको स्थायी समाधानका लागि प्रभावकारी कदम नचालिएको भन्दै स्थानीयवासीले आक्रोश र गुनासो व्यक्त गरेका छन्।